संयुक्त राज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक क्रियाकलापहरू दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अनुसन्धाताहरूले बताएका छन् ।
ईसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका प्रथम’ नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि ईसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।
अमेरिकाबाहेक सबैलाई समान रूपमा व्यापार युद्धमा राखिएको अवस्थामा सिर्जना हुने आर्थिक ढाँचाबारे फ्रान्कफर्टस्थित ईसीबीका विज्ञहरूले अध्ययन गरेका छन् ।
उनीहरूले वासिंटनले सबै आयातमा १० प्रतिशत करवृद्धि गर्ने र त्यसको जवाफमा अमेरिकासँगका व्यापारिक साझेदारले पनि त्यही शैली पछ्याउने हो भने अर्थ व्यवस्थामा नकारात्मक असर पर्ने बताएका छन् ।
करवृद्धिको प्रत्यक्ष असर व्यापारमा पर्ने अवस्थामा ती अर्थशास्त्रीले सार्वजनिक तथा वित्तीय बजारको आत्मविश्वासमा देखिने प्रभावको अध्ययन गर्ने कोसिस गरेका थिए । यो विषम परिस्थितिमा विश्वको सेयर बजारमा कमी आउने र अमेरिकी बजारमा १६ प्रतिशतसम्मले गिरावट आउनेछ ।
उनीहरूले तीन वर्षपछि कुल गार्हस्थ उत्पादनमा पनि एक प्रतिशतले कमी आउने प्रक्षेपण गरेका छन् ।
‘एउटा अर्थतन्त्रले करवृद्धि गर्दछ र अर्कोले प्रतिशोध राखेर करवृद्धि गर्दछ भने त्यहाँ परिस्थिति नाजुक हुनुबाहेक अर्को विकल्प छैन,’ अर्थशास्त्रीहरूको निचोड छ, ‘मानिसको जीवनस्तर घट्छ र रोजगारी पनि गुम्छ ।’
व्यापारमा, अमेरिकी उपभोक्ता र फर्महरू महँगोमा पाइने विदेशी सामानको साटो अमेरिकी सामान नै किन्नेतर्फ लाग्ने भएकाले अमेरिकी सामानको पनि निर्यातमा स्वाभाविक रूपमै कमी आउँछ । अमेरिकी व्यापारिक साझेदार मुलुकहरूले खरिद पनि कटौती गर्नेछन् ।
कम्पनीहरूले पनि लगानीमा कमी ल्याउनेछन् र कम कामदारलाई रोजगारी दिनेछन् ।
यहीबीच यस व्यापार युद्धमा पहिलो चरणमा चीनले जित्ने सम्भावना पनि देखिन्छ । अमेरिकासँगको व्यापारमा असर पर्ने अवस्थामा अरू मुलुकले अमेरिकी सामानको साटो चिनियाँ सामान खरिद गर्न सक्ने सम्भावना रहन्छ ।
‘व्यापार युद्धको पछिल्लो परिदृश्यले नाटकीय असर अवश्य पर्नेछ,’ विश्व व्यापार संगठनका प्रमुख आज्भेडोले बर्लिनमा आयोजित कार्यक्रममा भने । उनले अन्तर्राष्ट्रिय व्यापारका आधारभूत सिद्धान्तमाथि नै अमेरिकाले चुनौती निम्त्याइरहेको बताए ।
प्रतिक्रिया