‘त्रुटिबाट पाठ सिक्दै उज्ज्वल भविष्यतर्फ उन्मुख नेपाल-भारत सम्बन्ध’

‘त्रुटिबाट पाठ सिक्दै उज्ज्वल भविष्यतर्फ उन्मुख नेपाल-भारत सम्बन्ध’


एकीकृत विकास अध्ययन प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र बार्बरा फाउन्डेसनले गत साता राजधानीमा ‘नेपाल, भारत र छिमेक : आर्थिक सुधारका सम्भावना, नवप्रवर्तन र सम्पर्क’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा विशेष प्रवचकका रूपमा उपस्थित भारतीय विद्वान् राजीव कुमारले गतिशील राजनीतिक नेतृत्व, राष्ट्र निर्माण र त्यसको उन्नयनका निम्ति उसको दृढसङ्कल्प र समर्पणबाट समृद्धि हासिल हुने दृष्टान्त प्रस्तुत गरे ।

भारत सरकारले प्रवद्र्धन गरेको विद्वत् समूह नीति आयोगका उपाध्यक्ष राजीवले विविध राजनीतिक नेतृत्वको देशप्रति समर्पण र जनताका विकासका आकाङ्क्षा सम्बोधन गर्ने दृढ इच्छाशक्ति अनि सङ्कल्पका कारण बितेका चार वर्षमा भारत सामाजिक–आर्थिक समृद्धि हासिल गर्न सफल भएको बताए । विविध कारणले नेपालसँग बिग्रेको भारतको सम्बन्ध पछिल्ला दिनमा सुमधुर बन्दै गएको दाबी गर्दै उनले भने, ‘विगतका त्रुटिबाट पाठ सिक्दै उज्ज्वल भविष्यतर्फ हामी उन्मुख हुनुपर्छ, नेपालसँग मिलेर काम गर्न भारत हरदम तयार छ ।’

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)जस्ता क्षेत्रीय सङ्गठनमार्फत पनि भारतले छिमेकको विकासमा जोड दिएको उल्लेख गर्दै उनले पर्यटन, व्यापार, प्रविधि र यातायात सम्पर्क विस्तारबाटै नेपालको आर्थिक समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गरे । पर्यटनपछि स्वच्छ ऊर्जा उत्पादन र त्यसको भारत निकासी भएपछि त्यसले नेपालको अर्थतन्त्रलाई नयाँ मोड दिने उनको भनाइ थियो ।

उपाध्यक्ष कुमारले भारत र नेपालका सरकार विकास–निर्माण तथा सम्पर्क सञ्जालका परियोजनालाई निर्धारित समयमा पूरा गर्न पूर्ण प्रतिबद्धताका साथ लागिपरेका बताउँदै नेपालका तराई क्षेत्रमा रेलमार्गलगायत काम द्रुत गतिमा हुनु र तिनको नयाँदिल्ली र काठमाडौंले निरन्तर अनुगमन गर्नुलाई दुवै देश पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्ने तर्क गरे ।

सोही कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णुदेव पन्तले भारतले हासिल गरेको आर्थिक विकासबाट नेपालले अधिक लाभ प्राप्त गर्न नसकेको बताउँदै भारतको थप सहयोग नेपालका निम्ति अपरिहार्य भएको उल्लेख गरे भने काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुले शिक्षाको विकासबाटै विकासका अन्य फाँटमा फड्को मार्न सकिने भएकाले भौतिक प्रगतिका निम्ति शैक्षिक उन्नयनलाई महत्व दिनुपर्ने धारणा राखेका थिए ।