ओझेलमा परेको कुरा -बबिता बस्नेत

ओझेलमा परेको कुरा -बबिता बस्नेत


सुनसरी इटहरीकी जमुना भण्डारी प्राय: हाटबजार, मेला र आमसभाहरूतिर भेटिएकै हुन्छिन् । ती ठाउँहरूमा उनका आँखाहरूले कसैलाई खोजिरहेका हुन्छन्, भीडभाडमा प्राय: सबै मानिसको अनुहार हेरेर थकित बन्दै उनी घर फर्किन्छिन् । आठ वर्षदेखि उनको दिनचर्या करिब उस्तै-उस्तै छ, दिनभरि मजदुरी गर्नु, साँझ परेपछि विगतको सम्झना गर्दै टोलाउनु, भीडभाड देखे हेर्न दौडिहाल्नु । यसरी आमसभा या मानिसहरूको भीडमा उनी दौडिनुको एक मात्र कारण कतै त्यो भीडभाडमा आफ्ना श्रीमान् भेटिएलान् कि भन्ने नै हो । भूमिगत रहेकै बेला बेपत्ता भएका उनका श्रीमान् पुष्प भण्डारी माओवादीमा संलग्न थिए, २०६० कात्तिक ३ गते उनीहरूको भेट अन्तिमपल्ट धरानमा भएको थियो । श्रीमान्ले म चाँडै घर आउँछु तिमी जाऊ भनेपछि छुट्टएिकी उनले अहिलेसम्म श्रीमान्लाई भेट्न सकेकी छैनन् । माओवादी द्वन्द्वकालमा बेपत्ता भएका परिवारको सूचीमा उनका पतिको नाम छ, आज आउलान्, भोलि आउलान् भनेर परि्खएको पनि आठ वर्ष भइसक्यो तर यतिका वर्षसम्म न त श्रीमान् आए न त उनको बारेमा कुनै खबर नै आयो । कोही भन्छन्- सुरक्षाकर्मीले त्यतिबेलै मारेका रे । कोही भन्छन्- होइन कहाँ मार्नु, मारेका छैनन् रे । ‘मरे होलान् कि जिउँदै होलान् -‘ सुत्ने बेलामा प्राय: उनको मनमा यस्तै प्रश्न जन्मिन्छ । मरे भन्ने स्वीकार्न मन तयार छैन, जिउँदै होलान् भनुँ भने अहिलेसम्म किन आएनन् ? मरेका भए काजकिरिया गरिएन, मृत्यु भएपछि पुग्नुपर्ने गन्तव्यमा कतै बाधा पो पर्‍यो कि ? काजकिरिया गरूँ त कसरी गरूँ उनी जिउँदै पो छन् कि ? सोच्दासोच्दै मानसिक रूपमा उनी शिथिल बनिसकेकी छिन्, कहिलेकाहीँ त उनलाई पागल पो हुन्छु कि जस्तो लाग्छ ।
हातभरि टम्म राता चुरा, सिउँदोमा सिन्दुर र गलामा पोते लगाएर हिँड्छु, मेरो श्रीमान् बेपत्ता भएको सात वर्ष भयो, आज आउनुहोला, भोलि आउनुहोला भनेर दिन गन्दागन्दै यत्तिका वर्ष बिते । मानिसहरू भन्छन्- मेरो श्रीमान्लाई लानेबित्तिकै माओवादीले त्यतिबेला मारेका हुन्, तर लास नदेखुन्जेल कसरी विश्वास गर्ने ? पाँच मिनेटका लागि छलफल गर्नु छ भनेर उनीहरूले घरबाट लगेका थिए । आँसुबिनाका चाडबाड नआएको धेरै वर्ष भयो, राति कुकुर भुक्दा पनि उहाँ आउनुभयो कि जस्तो लाग्छ र उठेर हेर्छु,भीडभाडमा कतै देखिनुहुन्छ कि भनेर मानिसहरूका अनुहार नियाल्छु । सिन्दुर-पोते लगाउने बेलामा सधैं झस्किन्छु, के मेरो सिन्दुर बाँकी छ ? भनेर आफैंलाई प्रश्न गर्छु, काजकिरिया गरौँ आँखाले नदेखुन्जेल मनले मान्दैन, नगरौँ यदि उहाँको हत्या गरिएकै हो भने कतै आत्मा पो भड्किरहेको छ कि जस्तो लाग्छ । मनभरि अनेक तर्कना खेल्छन्, मजाले ननिदाएको धेरै वर्ष भयो ।
बरि्दयाकी लक्ष्मी खड्काले आफ्नो कुरा यसरी सुनाउँदा सहभागीमध्ये धेरैका आँखा रसाएका थिए । ०६० साल फागुन ३० गते उनका श्रीमान्लाई माओवादीले ५ मिनेटका लागि भनेर लगेका थिए तर अहिलेसम्म फर्किएका छैनन् । उनी अहिले पनि श्रीमान् फर्किएलान् कि भनेर आश गरिरहेकै छिन्, वर्षौंदेखि न त उनको आँगनमा चाडबाड आयो न त आङमा घाम नै लाग्न सक्यो । बरि्दयाकी लक्ष्मी खड्का र सुनसरीकी जमुना भण्डारीजस्ता धेरै श्रीमतीहरू वर्षौंदेखि अहिले पनि माओवादी द्वन्द्वका बेला हराएका आफ्ना श्रीमान्हरू परि्खएर बसिरहेका छन् । त्यस्ता धेरै आमा छन् जो द्वन्द्वका बेला हराएका आफ्ना सन्तान आज आउलान् कि भोलि आउलान् कि, झ्यालबाट छिर्लान् कि जस्केलाबाट पो पस्लान् कि भनेर बाटो कुरेर जीवन गुजारिरहेका छन् । कति आमाहरू बाटोमा हिँड्ने जोकोहीलाई बाबु हो मेरो छोरा देखेनौ, त्यसले के खायो होला, कहाँ गयो होला भनेर सन्तान कुर्दाकुर्दै यो संसारबाटै बिदा भइसके । उनीहरूमाथि परेको मनोवैज्ञानिक असर र बिग्रँदो मानसिक स्वास्थ्य कसैको चासोको विषय बनेन । गाउँघर जाँदा त्यस्ता आमाहरूका बारेमा प्राय: भन्ने गरिन्छ, ‘बिचरा छोराको फोटो देखाउँदै गाउँभरि डुल्थिन्, पागलजस्तै भएकी थिइन्, मरिन्, राम्रै भयो ।’ वर्षौंदेखि यसरी आफन्त कुर्नेहरूको मानसिक स्वास्थ्यमा पर्दै गएको असरप्रति कसैको ध्यान गएको देखिँदैन ।
त्यसो त, द्वन्द्वमा आफ्ना छोराछोरी गुमाउनुपर्दाको पीडा बाबुहरूलाई पनि छ, तर मानसिक असर भने आमा र श्रीमतीहरूमा बढी देखिन्छ । पुरुषहरूभन्दा महिलाको संसार साँघुरो हुने हुँदा महिलामा बढी असर परेको हो । पुरुषहरू हाटबजार जान्छन्, पानपसल, चियापसल, पाटी-चौतारोदेखि राजनीतिक दल र तिनका आमसभासम्म आफूलाई भुलाउने ठाउँ धेरै हुन्छन् । तर, महिला प्राय: घरमा सीमित रहने हुँदा त्यही चुलोचौको, त्यही आँगन, भुलाउने ठाउँ धेरै नभएपछि जतिबेला पनि आँखावरिपरि आइरहने उही बेपत्ता सन्तान या पति, तिनमा मात्रै आफूलाई केन्द्रित गर्दा मानसिक असर महिलामा बढी परेको छ । द्वन्द्वका बेला मारिनेका परिवारमा भन्दा बेपत्ता परिवारका सदस्यहरूमा यो समस्या बढी देखिन्छ । मर्नेहरूले त आँखाअगाडि लास देखे, आफ्नो संस्कृतिअनुरूप काजकिरिया गरे, चित्त बुझाउने ठाउँ रह्यो तर बेपत्ता परिवारका सदस्यहरू वर्षौंदेखि जिउँदै होला-नहोलाबीचको द्वैध मानसिकतामा बाँचिरहेका छन् ।
मुलुक अहिले शान्तिप्रक्रियाको नजाने कुन चरणमा छ, त्यतिबेला द्वन्द्वमा संलग्न माओवादी पार्टी सरकारमा छ । गर्नुपर्ने प्राथमिकतामा राजनीतिक नियुक्तिदेखि सत्ता बाँडफाँडका धेरै कुरा होलान्, सहिद परिवारका नाममा पनि कुराकानी होला, बेपत्ता परिवारका सदस्यहरूको अवस्था हिजो पनि बेपत्ता थियो र आज पनि त्योभन्दा फरक हुने अवस्था देखिएको छैन । सबै बेपत्ता परिवारका सदस्यहरूको अवस्था उस्तै छैन, जतिको अवस्था नाजुक छ तिनका बारेमा केही गर्नु राज्यको दायित्व हो । शारीरिक घाउचोटभन्दा मानसिक पीडा कैंयौँ गुणा डरलाग्दो हुन्छ, परामर्श र उपचारको माध्यमबाट उनीहरूको पीडालाई कम गर्न सकिन्छ । मानसिक स्वास्थ्यमा परेको असरलाई कम गरेर उनीहरूलाई जीवनप्रतिको आशा जगाउन सकिन्छ । बिग्रँदो मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्नेले गरे, संसार छोडेर जानेहरू गइसके, जत्ति छन् तिनलाई खुसीसँग जिउने सपना जगाउनका लागि विशेष कार्यक्रमको खाँचो छ । विगतमा घोषणा गरिएका नाम मात्रका कार्यक्रम होइन, व्यवहारमै लागू हुने खालका विषय केन्द्रित योजनाको आवश्यकता छ ।