चीनमा नौ विद्यार्थीका हत्यारालाई दिइयो मृत्युदण्ड

चीनमा नौ विद्यार्थीका हत्यारालाई दिइयो मृत्युदण्ड


चीनको सान्जी प्रान्तको एक माध्यमिक विद्यालयमा अध्ययनरत नौजना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।

स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेई नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो ।

सान्जीको प्रान्तको सुप्रिम पिपुल्स कोर्ट (एसपीसी) ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ ।

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीण इलाकामा रहेको एक माध्यमिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेको थियो ।

उक्त आक्रमणबाट अरू १२ जना विद्यार्थी पनि घाइते भएका थिए । गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।

सोही विद्यालयका पूर्वविद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँचवटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो । झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ ।

तर, उनले कोसँग र किन बदला लिनुपरेको हो भन्नेबारे केही बताइएको छैन ।