नेपालका प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल सिरिजअन्तर्गतको पुरुष यू–१५ तर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । दुबईमा असोज ११ गते भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले यूएईका प्रनव प्रवीणलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।
प्रिन्स शुरुवातदेखि नै प्रनवमाथि हावी बनेका थिए । पहिलो सेटमा २१–२ को सहज जित निकालेका प्रिन्सले दोस्रो सेटमा २१–८ को सहज जित निकालेका थिए । उनले पहिलो चरणमा वाई पाएका थिए । सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् ।
प्रिन्सले खेल–तालिकामा पहिलो सिड प्राप्त गरेका छन् । गत असोज १० गते बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, यूएई, साउदी अरब, बहराइन, अल्जेरयाजस्ता राष्ट्रका खेलाडीले सहभागिता जनाएका छन् ।
गत साता तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यू–१५ पुरुषतर्फ च्याम्पियन बनेका प्रिन्सले असोज १३ गते शुक्रबार यूएईकै धनवान्थ राहभानसँग खेल्नेछन् ।
प्रतिक्रिया