ओलम्पियाडमा महिला टोलीको पहिलो जित

ओलम्पियाडमा महिला टोलीको पहिलो जित


जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडअन्तर्गत महिलातर्फ नेपालले पहिलो जित हात पारेको छ । असोज १० गते बुधबार राति भएको तेस्रो चरणको खेलमा महिलातर्फ नेपालले गाम्बियालाई ४–० ले पराजित गरेको हो ।

नेपालकी सुशीला गुरुङले गाम्बियाकी फातोउ जाब्बीलाई, सिन्दिरा जोशीले हुला जालोउ, सुजना लोहनीले सेरी जालोउ र खुस्बु थापाले मारियमा क्रुबालीलाई पराजित गरेका हुन् । चौथो चरणमा नेपाली महिला टोलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी पुरुषतर्फ नेपाल सिंगापुरसँग ३.५–०.५ ले पराजित भयो । पुरुषतर्फ नेपालका रिजेन्द्रराज भण्डारीले भने उत्कृष्ट खेल जारी राखेका छन् । रिजेन्द्रले तेस्रो चरणमा सिंगापुरका जुन वेलीसँग बराबरी खेलेका थिए ।

नेपालका अन्य तीन पुरुष खेलाडी भने पराजित भए । हिमाल लामा इनिक प्यासेन्सियासँग, विवेक थिङ क्विनउन गोङसँग र रूपेश जैसवाल क्विङ लीसँग पराजित भएका थिए । चौथो चरणमा नेपालले बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ । यस ओलम्पियाडमा नेपालबाट १० खेलाडीले सहभागिता जनाएका छन् ।