पाठक मञ्च

पाठक मञ्च


pathakmanchएसएलसीमा खेताला लगाउने सभासद्
यस वर्षको प्रवेशिका परीक्षा समाप्त भएको छ । तर, एसएलसी परीक्षाका क्रममा देखिएका विकृतिले भने एउटा सवाल पैदा गरिदिएको छ । एउटा नेपाली उखान छ– नमरी बाँचे कालले साँचे अनेक सुन्न र देख्न पाइन्छ । मुलुक चलाउने संविधान बनाउन संविधानसभासम्म पुगेका एक सभासद्लाई पनि एसएलसी पास गर्न मन लागेछ । आफैँले परीक्षा दिएर पास गर्ने हिम्मत भएन होला बिचरा सभासदज्यूलाई, ढुक्कैले खेताला लगाएछन् । खेताला लगाउनेले त लगाए–लगाए, ती छुच्चा निरीक्षकको आँखा किन पुग्नुपरेको होला ? नजर त लाग्यो–लाग्यो रे लौ, चिटिङ गरेको पक्रिनहालेको भए पनि त हुने नि । मुलुकको संविधान बनाउन लागेका व्यक्तिलाई कमसेकम फलामे ढोकाभित्र छिर्ने मेलो मिलाइदिनैपर्ने हो नि । एसएलसी पास भइदिए अलिक राम्रो संविधान निर्माण गर्ने विवेक फुथ्र्यो कि ।
यी पङ्क्ति पढ्दा जोक गरेजस्तो लाग्न सक्छ । तर, यो व्यङ्ग्यभित्र गहिरो नेपाली व्यथा लुकेको छ । सभासद्जस्तो व्यक्तिले एसएलसी पास नगर्नु त यो समावेशी जमानामा अनौठो नहोला, तर अर्कालाई खेताला लगाएर हातमा सर्टिफिकेट लिने चेष्टा गर्नुचाहिँ हदै हो । यस्ता सभासद्ले त एसएलसी परीक्षामा चिट चोराउने र खेताला लगाउन पाउने सङ्गठनको माग गर्ने त होइनन् कतै ? यस्ता सभासद्ले कस्तो संविधान दिने हुन् ? कठै हामी नेपालीको भाग्य ।
– दामोदर पौडेल, थप्रेक–२, तनहुँ

उजुरी दिनेले किन चिनिनन् ?
ढुकुटीको धन्दा बिग्रँदा सैनिक मुख्यालयमा समेत उजुरीको चाङ लाग्न थालेको बुझिएको छ । ढुकुटी खेलमा महिर युवतीसँग विवाह गरेका एकजना क्याप्टेन अहिले पत्नीको ढुकुटी कारोबारका कारण नेपालगञ्जबाट मुख्यालयस्थित सैनिक प्रहरीमा हाजिर हुनुपर्ने स्थितिमा छन् ।
नेपालगञ्जस्थित ४ नं. बाहिनीमा कार्यरत क्याप्टेन रेवन्त केसी केहीदिन अघि सैप्रमा हाजिरका लागि ताकेतामा परेका हुन् । उनीमाथि ताकेता हुनुमा ढुकुटी खेलाई ठगी मुद्दामा जेल परेकी गीता कार्कीको सक्रियता कारक रहेको छ । गीताले राई थरकी अर्की महिलालाई खडा गरी घरजग्गा कारोबारमा आफूमाथि ठगी भएको, फोनमा अश्लील शब्द प्रयोग गर्दै गाली गरेकोलगायतका उजुरी हनुमानढोका प्रहरीमा दिएकी थिइन् । घरजग्गासम्बन्धी कारोबारको अभियोगमा प्राड विभागको छानबिनले केसीलाई केही महिनाअघि निर्दोष भनी सफाइ दिइसकेको छ । तर, पछिल्लोपटक प्रहरीमा उजुरी परेपछि सैनिकको मुद्दा हेर्न नमिल्ने कारण प्रहरीले त्यसलाई सैनिक मुख्यालय पठायो । यसपछि सैप्रले आवश्यक सोधपुछका लागि क्याप्टेनलाई नेपालगञ्जबाट बोलाएको हो । ती क्याप्टेन केही दिनमै सैप्र पुग्ने मुख्यालय स्रोतले जनाएको छ । यसअघि गीता सोझै सैनिक मुख्यालय पुगी क्याप्टेन केसीलाई कारवाही गरिनुपर्ने माग राखेकी थिइन् । त्यसबेला आफ्नै अगाडि उभिएका केसीलाई भने उनले चिनिनन् ।
– वियोग भुर्तेल, हाल : काठमाडौं

खल्ती भरिएपछि दिउँसै टाप
वैदेशिक रोजगार विभागको मलेसिया शाखाका कर्मचारीको दैनिक कमाइ १३ लाख चानचुन हुने गरेको छ । केडीएन नमिलेका र व्यवसायीहरूले अवैध कमिशन दिएर झारेका डिमाण्डलाई पूर्व र अन्तिम श्रमस्वीकृति दिएबापत उनीहरूले म्यानपावर व्यवसायीबाट सीधै रकम लिने गरेका छन् । प्रतिनिधिसँग कुरा नमिल्न थालेपछि विभागले अहिले सञ्चालकलाई नै बोलाउन थालेको छ । वैदेशिक रोजगारीका लागि जाने नागरिकले कमाएर नेपाल भित्याएको रेमिट्यान्सभन्दा व्यवसायीहरूले दोब्बर बढी रकम अवैध कमिशनको रूपमा मलेसिया पठाउने गरेका छन् । नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा रकम पठाउन राष्ट्र बैंक ऐनले बन्देज लगाएको छ । यो अवैध धन्दामा राष्ट्र बैंकले चासो नदेखाउनु केन्द्रीय बैंकको समेत मिलेमतो रहेको हुन सक्ने अनुमान गरिएको छ । नेपाली मुद्रा रिङ्गेट वा डलरमा अवैध कमिशनको रूपमा बिदेसिँदा मुलुककै अर्थतन्त्रमा नराम्रो असर पर्न थालेको छ विज्ञहरूको ठहर छ ।
मलेसिया शाखाका निर्देशक कमलराज भण्डारी, अधिकृतहरू लक्ष्मण श्रेष्ठ, ज्ञाननाथ ढकाल, जयराम नेपाल, नासुहरू डम्बरबहादुर विक, सूर्यप्रसाद रेग्मी र लक्ष्मीले अख्तियारका एक आयुक्तलाई करोडौँ बुझाएर खुलमखुल्ला घुस असुल्ने अनुमति पाएका छन् । विक विगतमा संसद् सचिवालयमा कार्यरत रहेकाले राजनीतिक एवम् प्रशासनिक उच्च तहका व्यक्तिसँग बलियो सम्बन्ध रहेको भन्दै अन्य कर्मचारीलाई समेत फुर्ती लाउँदै घुस असुल्दै हिँड्ने गरेका छन् । बिजुलीबजार, धोबीखोला, थापागाउँलगायतका स्थानमा म्यानपावर व्यवसायी र मानव तस्करहरूले उनलाई घुस बुझाउन आउने गरेका छन् । खाली खल्ती लिएर घरबाट निस्किएका कर्मचारीका खल्ती विभागबाट बेलुका फर्कंदा नोटका गड्डीले दिनहुँ भुक्क फुल्ने गरेको देख्न पाइन्छ । यहाँसम्म घुसको रकमले छिट्टै खल्ती भरियो भने उनीहरू मध्यदिनमै कार्यालयबाट निस्कने गरेका छन् ।
विभागको अभिमुखीकरण तालिम शाखामा समेत विभागको इमेलमा वैदेशिक रोजगारीमा जाने सर्वसाधारणको नाम र पासपोर्ट दिनको दुई बजेअगाडि पठाएर स्वीकृत गरिने गरेको छ । नाम लिस्ट पाएपछि संस्थागत घुस लिएर शाखाका कर्मचारीले नपढाई विभागको इमेलमा पठाएका लिस्टलाई पास गरी घुस असुल्दै आएका छन् । शाखाका यादव सापकोटाले व्यवसायीसँग घुस असुल्ने र अख्तियारलगायत सम्बन्धित निकायलाई पु-याउने जिम्मा पाएका छन् ।
– आरबी शर्मा, काठमाडौं