समाजवाद, साम्यवादले विश्वमा राम्रो कार्य गर्न नसकेको राष्ट्रपति ट्रम्पको दाबी

समाजवाद, साम्यवादले विश्वमा राम्रो कार्य गर्न नसकेको राष्ट्रपति ट्रम्पको दाबी


– मनोज रिजाल, न्युयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जब कुनै राष्ट्र समाजवाद वा साम्यवादको सर्वसत्तावादमा चुर्लुम्म डुब्छ, तब त्यसका नकारात्मक परिणामहरू देखिन थाल्छन् र त्यस्तो राजनीतिक व्यवस्था जनतालाई सेवा प्रवाह गर्ने कार्यमा समेत असफल रहने गरेको बताएका छन् ।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाको उदाहरण दिँदै राष्ट्रपति ट्रम्पले भने, निकोलस मडुरो नामका वर्तमान साम्यवादी राष्ट्रपतिको कुशासनका कारणले त्यस देशका जनताले अत्यन्त दुःख पाइरहेका छन् ।

‘समाजवाद वा साम्यवादले विश्वमा राम्रो काम गरिरहेको छ भनेर म भन्न सक्दिनँ,’ राष्ट्रपति ट्रम्पले न्युयोर्कमा आयोजित एक पत्रकार सम्मेलनलाई सेप्टेम्बर २६, २०१८ मा सम्बोधन गर्ने क्रममा भने ।

‘एक नम्बरमा तपाईंले भेनेजुयलालाई नै हेर्न सक्नुहुन्छ, जुन उदाहरण सबैभन्दा प्रष्ट छ । तर, विश्वभरी नै समाजवाद वा साम्यवादले राम्रो प्रदर्शन गर्न सकेको छैन,’ उनले भने ।

राष्ट्रपति ट्रम्प संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा थिए । उक्त पत्रकार सम्मलेनअघि महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले अतिवादी साम्यवाद विश्वमा असफल हुँदै गइरहेको तथ्य उजागर गरे ।

‘अहिले हामी भेनेजुयलाको मानव त्रासदी देखिरहेका छौँ । २० लाख भन्दा बढी भेनेजुयेली जनताले साम्यवादी मडुरो र उनका क्युबाली समर्थकहरूले लादेको शासन खप्न नसकेर देश नै छोडेर भाग्नु परेको छ,’ उनले भने ।

‘त्यति धेरै समय पनि भएको छैन, भेनेजुयेला विश्वमा एक सम्पन्न मुलुकको रुपमा गनिन्थ्यो । तर तेलमा धनी यो मुलुकलाई आज साम्यवादले टाट पल्टाइदिएको छ र जनतालाई चरम गरिवीमा बाँच्न बाध्य बनाइदिएको छ । संसारमा लगभग सबैतिर समाजवाद वा साम्यवादी शासन अपनाउने प्रयास विगतमा गरिएको थियो । तर यसले केवल पीडा, भ्रष्टाचार र ह्रास मात्रै उत्पादन गरेको छ,’ राष्ट्रपति ट्रम्पले भने ।

‘समाजवाद वा साम्यवादको शक्तिप्रतिको आशक्तिले विस्तारवाद, अतिक्रमण र शोषण मात्रै निम्त्याउँछ । संसारका सबै मुलुकहरूले यस्तो शासन व्यवस्था र यसले ल्याउने समस्याहरूको प्रतिरोध गर्नुपर्छ,’ उनले भने ।

‘यस भावनाका साथ, यहाँ भेला हुनुभएका विश्वभरीका राष्ट्रका प्रतिनिधिहरूलाई भेनेजुयेलामा लोकतन्त्रको पुर्नवहालीको निम्ति हामीसँग हातेमालो गर्न आह्वान गर्दछु । आज हामी मडुरोको भित्री वृत्त र नजिकका सल्लाहकारहरूलाई लक्षित गर्दै मडुरोको शोषक सत्ता विरुद्ध थप प्रतिबन्धहरूको घोषणा गर्न गइरहेका छौं,’ राष्ट्रपति ट्रम्पले भने ।

इरानको सन्दर्भमा राष्ट्रपति ट्रम्पले इरानी जनताहरू त्यहाँका शासकहरूले अर्बौं डलर कुम्ल्याएको, अर्थतन्त्रको ठुलै हिस्सामा कब्जा गरेको, धर्मका नाममा जनतालाई लुटेको र देखाउनको लागि अनावश्यक युद्ध गरेको आदि तथ्यहरूले आक्रोशित छन् भन्ने तथ्य बताए ।

‘यो राम्रो होइन । इरानका छिमेकीहरूले इरानी सत्ताको आक्रामकता र विस्तारवादको ठुलै मुल्य चुकाइसकेका छन् । त्यसैकारण, मध्यपुर्वका धेरै देशहरूले सन् २०१५ को इरान न्युक्लियर डिलबाट अमेरिका पछि हट्नुपर्छ र आणविक प्रतिबन्ध पुन लागु गर्नुपर्छ भन्ने मेरो निर्णयलाई सशक्त समर्थन गरेका छन्,’ उनले भने ।

‘इरानी सत्ताको रक्तरञ्जित एजेण्डालाई अघि बढाउन आवश्यक पर्ने रकम यो सत्ताले कुनै हालतमा प्राप्त गर्न नसकोस् भनेर संयुक्त राज्य अमेरिकाले आर्थिक दबाबको अभियान संचालन गरेको छ । गत महिना हामीले इरानमाथि फेरी कडा किसिमको आणविक प्रतिबन्ध लगायौं, जुन इरान डिल अन्तर्गत हटाइएको थियो । यही नोभेम्बर ५ मा थप प्रतिवन्धहरू लगाइनेछ र अन्य प्रतिवन्धहरू पनि लगाउँदै जानेछौं ।’

उत्तर कोरियाको सन्दर्भमा, राष्ट्रपति ट्रम्पले भने, सिङगो कोरिया प्रायद्विपलाई आणविक अस्त्रमुक्त बनाउनेतर्फ कार्य अघि बढीरहेको छ र यसका अहिलेसम्मका परिणामहरू उत्साहजनक छन् ।

‘यहाँ उपस्थित धेरै देशहरूको समर्थनबाट आज हामीले उत्तर कोरियालाई वार्तामा ल्याउन एवम् द्वन्द्वलाई शान्ति उन्मुख एक साहसिक र नवीन पथमा ल्याउन सफल भएका छौं,’ उनले भने ।

‘गत जुन महिनामा म सिंगापुर गएँ र उत्तर कोरियाली नेता किम–जोङ–उन सित प्रत्यक्ष भेटघाट गरेँ । हाम्रो वार्तालाप र भेटघाट अत्यन्त सफल रह्यो । हामी यो कुरामा सहमत भयौँ कि सिङ्गो कोरियाली प्रायद्विपलाई आणविक अस्त्रमुक्त गर्नु दुबै देशको हितमा छ ।’

उक्त भेटघाट पश्चात विगतमा कल्पना मात्र गर्न सकिएका कैयौं उपायहरू यथार्थमै प्राप्त गर्न सकिएको छ, राष्ट्रपति ट्रम्पले भने ।

‘विगतमा जस्तो मिसाइल र रकेटहरू आकासमा अहिले जताततै उडिरहेका छैनन् । आणविक परीक्षण बन्द भएको छ । केही सैन्य संरचनाहरू भत्काउन समेत शुरु भइसकेको छ । अमेरिकी बन्धकहरूलाई रिहा गरिएको छ र बाचा गरिए अनुसार शहादत प्राप्त गरेका हाम्रा नायकहरूको अवशेषलाई अमेरिकी माटोमै चीर शान्तिमा लीन हुन फर्काइ सकिएको छ,’ राष्ट्रपति ट्रम्पले भने ।

‘अझै धेरै काम गर्न बाँकी नै छ, तैपनि म अध्यक्ष किम–जोङ–उनलाई उनको साहस र उनले चालेका कदमहरूको निम्ति धन्यवाद ज्ञापन गर्न चाहन्छु । तर कोरियाली प्रायद्विप पुर्ण रुपमा आणविक अस्त्रमुक्त नभएसम्म प्रतिवन्धहरू भने कायम नै रहनेछन् ।’

संयुक्त राष्ट्रसंघको ७३औं महासभा ‘सबैको निम्ति सान्दर्भिक राष्ट्रसंघ : शान्तिपुर्ण, समतामुलक र दीगो समाजको निम्ति सामुहिक नेतृत्व र साझा जिम्मेवारी’ भन्ने नाराका साथ सेप्टेम्बर १८ मा शुरु भएको छ । अक्टुबर ५ मा समापन हुने उक्त महासभामा विश्वभरीका १९३ सदस्य राष्ट्रका उच्च स्तरीय प्रतिनिधिहरू सहभागी भएका छन् ।