किड्स ट्राइयाथलनमा तेन्जिनलाई स्वर्ण

किड्स ट्राइयाथलनमा तेन्जिनलाई स्वर्ण


तेन्जिन एन रायन गुरुङ किड्स ट्राइयाथलन च्याम्पियनसिपमा सिनियर ब्वाइजतर्फ स्वर्ण हात पार्न सफल भएका छन् । फर्निचर ल्यान्ड प्रा. लि.को प्रायोजनमा भएको च्याम्पियनसिपमा गुरुङले २५ मिटर पौडी, ८०० मिटर साइक्लिङ र ५०० मिटर दौड ५ मिनेट २६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्न सफल भएका हुन् ।

नेपाल ट्राइयाथलन संघको तत्वावधान तथा ललितपुर जिल्ला ट्राइयाथलन संघको आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो स्थानमा युभनलाल श्रेष्ठ रहे । उनले उक्त दूरी ६ मिनेट ०३ सेकेन्डमा पार गरे । तेस्रो स्थानमा रहेका सिद्धार्थ तुलाधरले ६ मिनेट ०५ सेकेन्डका साथ दूरी पूरा गरेका थिए ।

ललितपुर बज्रबाराहीमा भएको च्याम्पियनसिपमा सिनियर छा त्रातर्फ राभ्या श्रेष्ठले ६ मिनेट ४७ सेकेन्डका साथ स्वर्ण, वियुषा राईले ७ मिनेट ०२ सेकेन्डका साथ रजत र तमन्ना अग्रवालले ८ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पाइन् । त्यस्तै, जुनियरतर्फ ब्वाइजमा आरोण भण्डारी पहिलो भए । उनले ४ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरे । नोवल महर्जनले ५ मिनेट ०६ सेकेन्डका साथ दोस्रो र ५ मिनेट ०७ सेकेन्डका साथ अभानलाल श्रेष्ठ तेस्रो भए । महिलातर्फ श्रृती श्रेष्ठले ६ मिनेट ०७ सेकेन्डका साथ स्वर्ण पाइन् । दोस्रो स्थानमा सुभानी तुलाधर रहिन् । उनले ६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गरिन् ।

विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाल ट्राइयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, प्रायोजक फर्निचर ल्यान्ड प्रा. लि.का अध्यक्ष मदनलाल जोशी, इमेरल इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल जितबहादुर क्षेत्रीले खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । च्याम्पियनसिपमा ५० खेलाडीको सहभागिता रहेको थियो ।