ओलम्पियाडमा नेपालद्वारा ताइपेई पराजित

ओलम्पियाडमा नेपालद्वारा ताइपेई पराजित


४३औँ चेस ओलम्पियाडअन्तर्गत नेपालको पुरुष टोलीले पाँचौँ चरणको खेलमा चाइनिज ताइपेईलाई ३.५–०.५ पराजित गरेको छ । जितसँगै नेपाली पुरुष टोलीले ६ अंक बनाएको छ ।

आगामी खेल जित्दै गएमा नेपालले आफ्नो समूहमा पदक जित्ने सम्भावना पनि बढाएको छ । पाँचौँ चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले ताइपेईका अदेलाद बाइलाई हराए । रूपेश जैसवालले अस्टिन बी आनचानलाई र रिजेन्द्र राजभण्डारीले यान येह लिउलाई पराजित गरेका थिए । विवेक थिङले रेमन्ड सोङसँग बराबरी खेलेका थिए । छैटौँ चरणमा पुरुष टोलीले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी महिलातर्फ पाँचौँ चरणको खेलमा नेपाली टोलीले लेसोतोलाई २–२ को बराबरीमा रोकेको छ । नेपालकी मोनालिसा खम्बुले लोसोतोकी नालइम्याकपर्सन र सुजना लोहनीले फेरा मालिल्लोलाई हराए । सिन्दिरा जोशी नागाटेने लाइकेटसेङसँग र खुश्बु थापा मोबोलोको लेबोइलासँग पराजित भए । नेपाली महिला टोलीले तीन अंक बनाएको छ । छैटौँ चरणको खेलमा महिला टोलीले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ ।