धर्मश्री प्रतियोगिता : विजेतालाई नगद ५ लाखसहित ट्रफी

धर्मश्री प्रतियोगिता : विजेतालाई नगद ५ लाखसहित ट्रफी


नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुँदै आएको ‘धर्मश्री’ असोज १९ र २० गते आयोजना हुने भएको छ । राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमूल्य जीवनको आहुती दिने अमर शहीद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतिमा ०४२ सालबाट शुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको १५औँ संस्करण असोज १९ र २० गते हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

राष्ट्रव्यापी खुला प्रतियोगिताको रूपमा रहेको प्रतियोगितामा करिब ४०० खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराइने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीले ओभरअल राउन्डमा धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१५ हजार पुरस्कार राशिबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५औँ संस्करणसम्म आइपुग्दा शारीरिक सुगठनमा सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिता बनेको छ । धर्मश्री विजेतालाई नगद ५ लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिनेछ । यस्तै, प्रतियोगितामा दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख, चौथोले ९० हजार, पाँचौँले ८० हजार, छैटौँले ७५ हजार र सातौँ स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको हौसला अभिवृद्धि गर्न भारतका चर्चित दुईपटकका मि. वल्र्ड, मि. युनिभर्स तथा मि. इन्डिया संग्राम चौगुले पनि नेपाल आउने भएका छन् । कुल ४० लाखको बजेट रहेको प्रतियोगिताको अघिल्लो संस्करणको धर्मश्री पर्साका अर्जुन वर्णवाल रहेका थिए ।