प्रिन्स दुबई सिरिजको फाइनलमा

प्रिन्स दुबई सिरिजको फाइनलमा


नेपालका प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल सिरिजअन्तर्गतको पुरुष यू–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुबईमा असोज १३ गते शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधिनजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकालेका थिए ।

यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् । प्रतियोगितामा सहभागिता जनाउन एक्लै दुबई पुगेका प्रिन्सलाई दुबईमा प्रशिक्षकको रूपमा उनका मामा कमलेश निरौलाले गरिरहेका छन् । प्रिन्सले फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनससँग असोज १४ गते आइतबार प्रतिस्पर्धा गर्नेछ । क्रिस्टियनले भारतका युनिथ कृष्णलाई २१–१९ र २१–१७ ले पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, यूएई साउदी अरब, बहराइन, अल्जेरयाजस्ता राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको छ ।