दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर, यी बच्चाहरू विशिष्ट किसिमका छन् ।
‘यी बच्चाहरू कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,’ प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरू पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।
‘सिंहले गत अगस्ट २५ मा दुईवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनीहरू दुवै स्वस्थ र सामान्य छन्,’ विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताए । उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो ।
‘हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य संकलन गरेका थियौंँ,’ ग्यान्सविन्टले भने । त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रूपबाट गर्भाधान गराइएको थियो । ‘भाग्यवश, यो सफल भयो,’ ग्यान्सविन्टले थपे, ‘विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यसपटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नुपरेन ।’
उनले यो सफलतालाई विस्तार गर्न सकिने बताए । वैज्ञानिकहरूले यो विधिलाई प्रयोग गरी अन्य संकटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।
अफ्रिकाका २६ वटा मुलुकबाट सिंह विलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ ।
‘हामीले अहिल्यै केही गरेनौँ भने यहाँका सिंह विलुप्त हुन्छन्,’ ग्यान्सविन्टले बताए ।
उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानुपर्ने अवस्थाको अब अन्त्य भएको बताए । नयाँ प्रविधिको प्रयोगमार्फत अब सिंहको विर्य मात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ ।
सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो ।
तर, जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । ‘दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,’ बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले बताए ।
‘यो विधिले सिंह जन्माउने, सिंहको सिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,’ उनले बताए ।
अठारवटा अन्तर्राष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाहरूले वैज्ञानिकहरूलाई एक पत्र लेखी अध्ययनप्रति विमति जनाएका छन् ।
प्रतिक्रिया