इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या बढेको छ ।
स्थानीय अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरूले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।
इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ताहरू अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या हजारभन्दा बढी हुन सक्ने बताए ।
मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय रहेका छन् । अरू सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूको भनाइ छ । अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।
कतिपय मृत्यु भएकाहरूको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण ५०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।
इन्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरू पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषहरूमा कैयौँ मानिस हराइरहेको अनुमान गरिएको छ ।
भूकम्प र सुनामीले बस्ने घरहरू, विद्यालय, मस्जिद, अस्पताल, होटेल र पसललगायतका भौतिक संरचनाहरूमा क्षति गरेको छ । अधिकारीहरूले अझै पनि शक्तिशाली परकम्पहरू आउने क्रम जारी रहेको बताएका छन् ।
यसै वर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया