हरेक नयाँ वर्षमा…– रामेश्वर राउत ‘मातृदास’

हरेक नयाँ वर्षमा…– रामेश्वर राउत ‘मातृदास’


indreniहर्षै हर्ष वर्षा होस् हरेक नयाँ वर्षमा
सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा
सेवा भाव जागृत होस् हरेक पल–अंशमा
अनन्त अमृत वर्षियोस् नेपाली कुल वंशमा

झमक्क झम्के साँझमा प्रसन्न जून लम्किऊन्
प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊन्
हिमाल शैलपुत्री यी नेपाल आमा हँसाऊँ
अमर दिव्य पुरमा परमात्मा बास बसाऊँ

सुरम्य रम्य रहर भो सुरभी शैली शिरमा
को पर्न खोज्छ विरही विरक्त लाग्ने भीरमा
रवि शशि तारापुञ्ज नृत्याङ्गना नागर
उमङ्गका छालमा मङ्गल हुन् सातै सागर

उनान्चास मरुद्गणका आकाश देउसी भैलो भो
सभ्यता सृष्टि शिरको आरम्भ आँगन नेपाल यो
ए ऽ आमा लौन उघार ज्योति दैलो घरक्क
बिर्सेर जाने बैगुनी फर्केर आऊन् फरक्क ।
– वशिष्टधाम, निर्झर दिलचेत, सिन्धुबस्ती