एभीएल महिला भलिबल

एभीएल महिला भलिबल


आदिवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी र चितवन टाइगर्स सेमिफाइनलमा प्रवेश गरेका छन् । असोज १४ गते आइतबवार आर्मीविरुद्ध भएको संघर्षपूर्ण खेलबाट ३–२ को सेटमा जित निकाल्दै न्यु डायमण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१५ ले जितेको न्यु डायमण्डले लगातार दोस्रो र तेस्रो सेट २२–२५ र १८–२५ ले गुमाएपछि २–१ ले पछि परेको थियो ।

दुवै सेट जित्नैपर्ने दबाबमा परेको न्यु डायमण्डले चौथो सेट २५–२२ ले जितेपछि खेल पाँचाँै सेटमा लम्बिएको थियो । निर्णायक सेटमा न्यु डायमण्डले आर्मीलाई १५–११ को सेटमा रोकेपछि एक खेल अगावै सेमिफाइनलमा यात्रा तय गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाइगर्ससँग ३–० को सेटमा पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’बाट एक–एक खेल जितेका न्यु डायमण्ड र चितवन टाइगर्सको आपसी भिडन्तबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

नेपाल भलिबल संघ र आदिवादी फाउन्डेसनको आयोजनामा सञ्चालन भएको दोस्रो खेलमा एपीएफले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१९, २५–२२ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । समूह ‘बी’मा एपीएफ १ खेलबाट र पुलिसले २ खेलबाट समान ३–३ अंक बनाएका छन् । असोज १५ गते सोमबार एपीएफ र पोखरा पिंकेजबीचको लिग खेल बाँकी छ ।

दोस्रो दिनको खेलको प्रमुख अतिथि नेपाल सेटलाइट टेलिफोनकी निर्देशक अस्मिता सुमार्गीले खेलाडी तथा अफिसियललाई बधाई दिएकी थिइन् । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखिको एभीएल विजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।