अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने ‘तेस्रो युथ ओलम्पिक गेम २०१८’मा जाने ६ सदस्यीय नेपाली टोलीलाई असोज १५ गते सोमबार ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरेका छन् ।
असोज २० देखि कात्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजीमुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिक कमिटीले जनाएको छ ।
नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्नेछन् । उनले सेभ दी मिसनको भूमिकासमेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै, एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजयकुमार गुरुङ रहेका छन् ।
नेपाली टोलीलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना व्यक्त गर्दै १८ वर्षमुनिका खेलाडीको कुम्भमेलालाई खेलाडीले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठूला प्रतियोगिताहरूका लागि आफूलाई निखार्ने अवसरको रूपमा लिनुपर्ने बताए ।
बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीकी उपाध्यक्ष एवं लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, कोषाध्यक्ष एवं नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन, सदस्य एवं ट्राइयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया