ओलम्पियाडमा पुरुष टोलीको अर्को जित

ओलम्पियाडमा पुरुष टोलीको अर्को जित


जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा पुरुष टोलीले अर्को जित हात पारेको छ । छैटौँ चरणको खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कुल आठ अंक बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । श्रीलंकासँगको खेलमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले विजय प्राप्त गरेका थिए ।

रिजेन्द्रले लसुरा अलाहाकनलाई पराजित गरेका थिए । त्यस्तै मदनले निपुन पियुमन्थालाएई पराजित गरेका थिए । रिजेन्द्रले ३६औँ चालमा लसुरालाई निराश बनाएका थिए । अर्को खेलमा विवेक थिङले जीएमएच तिलकरत्नेसँग बराबरी खेले भने पेस जैसवाल सन्जुला मिनुलसँग पराजित भएका थिए । सातौँ चरणमा नेपालले आफूभन्दा धेरै बलियो प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी महिलातर्फ छैटौँ चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । महिलामा त्यति जम्न नसकेको नेपालका लागि छैटौँ चरणमा मोनालिसा खम्बु र सुजना लोहनीले जित निकालेका थिए । सिन्दिरा जोशी र खुश्बु थापा पराजित भए ।