विश्व महिला बक्सिङमा नेपालका दुई खेलाडी

विश्व महिला बक्सिङमा नेपालका दुई खेलाडी


विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् ।

भारतको नयाँदिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा एपीएफकी मिनुले मकवानपुरकी सञ्जुमाया थिङलाई अंकका आधारमा हराइन् । एकपक्षीय खेलमा मिनु ५–० ले विजयी भएकी थिइन् ।

अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा हराइन् । उनले ५–० को जित हात पारेकी थिइन् । विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट दुईवटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ५१ र ६० केजीमुनिमा एक–एकजना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । ६० केजीमा सहभागिता जनाउनका लागि आर्मीकी पुनम रावल र एपीएफकी संगीता सुनारबीच प्रतिस्पर्धा हुनेछ ।