आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने तय भएको छ । प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभुवन आर्मी क्लब भने बाहिरिएका छन् ।
प्रतियोगिताअन्तर्गत असोज १५ गते सोमबार भएको खेलमा चितवन टाइगर्सले न्यू डायमण्डलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको थियो । पहिलो सेट २५–१९ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट भने २७–२९ ले जितेको थियो । तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि पुनः अग्रता लियो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यु डायमण्डले २६ अंकसम्म पु¥याएको थियो । तर, चितवन २८–२६ ले विजयी हुँदै समूह ‘ए’को विजेता बन्न सफल भयो ।
न्यु डायमण्ड भने समूहको उपविजेता बन्यो । अब न्यु डायमण्डले समूह ‘बी’को विजेता एपीएफसँग खेल्नेछ । एपीएफले पोखरा पिंकेजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २५–१३ को जित निकालेको एपीएफले पछिल्लो दुई सेट २५–११ र २५–१५ ले जितेको थियो ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशिको एभीएल विजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया