प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली नेपालमा नभएको मौका छोपेर प्रचण्डले शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नुको परिणाम आउन बाँकी भए पनि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको चर्को आलोचना गर्नुको परिणाम भने तत्कालै प्राप्त भएको छ । पार्टीका खास–खास नेताहरूले माधव नेपालको प्रतिरक्षा गर्न खोजे पनि आमनेता–कार्यकर्ताले उनको चर्को आलोचना गरेका छन् । माधवले केपीविरुद्ध बोलेपछि यसअघि केपीसँग असन्तुष्ट भएर बस्नेहरूसमेत एकाएक माधवविरुद्ध खनिएका छन् । केपीपछिको नेताका रूपमा माधव नेपाललाई हेर्नेहरूको मन पनि यस प्रकरणले कुँड्याएको पाइएको छ ।
माधव नेपाल भद्र र शालीन नेताका रूपमा चिनिन्छन् । तर, यदाकदा उनी किन असामान्य रूपमा प्रस्तुत हुने गर्दछन् त्यो सबैको चासोको विषय हुने गर्दछ । यसपटक केपी र प्रचण्ड दुवैजना विदेश जाँदा पनि आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएकोमा माधव नेपाल क्रूद्ध बनेको अनुमान गरिएको छ । पार्टीको एकीकरण प्रक्रियालाई तल्ला निकायहरूसम्म पुऱ्याउने क्रममा आफ्ना निकटवर्तीहरूलाई ठाउँ नदिएको भन्दै नेपाल असन्तुष्ट बनेका थिए । यसैबीच ‘कार्यवाहक’ नदिएपछि उनी ‘विस्फोट’ हुन पुगेको ठानिएको छ । कारण जेसुकै भए पनि यसपटक केपीविरुद्ध बोल्दा माधव नेपाललाई नै प्रतिरक्षात्मक अवस्थामा पुऱ्याएको छ । करिब दुई वर्षअघि पनि माधव नेपाल केपीविरुद्ध चर्को अभिव्यक्ति दिएका कारण आलोच्य बनेका थिए । यसपटक पनि बोलेकै कारण माधव नेपाल रक्षात्मक अवस्थामा पुगेका छन् ।
माधवकुमार नेपालले केपीविरुद्ध अभिव्यक्ति दिँदा माओवादी कित्ताका अधिकांश नेता तथा कार्यकर्ताले निकै सञ्चो मानेको देखिएको छ । केपीविरुद्ध अभिव्यक्ति दिएको खबर सार्वजनिक भएपछि प्रचण्डले सिङ्गापुरबाट माधव नेपाललाई टेलिफोन गरी उनको ‘साहस’को उच्च प्रशंसा गरेका थिए । ज्ञातव्य छ, प्रचण्डलगायत माओवादी कित्ताका अधिकांश नेता केपी ओलीसँग असन्तुष्ट छन् ।
मन्त्रिमण्डलमा सामेल भएका सबै ‘माओवादी’हरू केपीप्रति असन्तुष्ट छन् । तर, उनीहरू रणनीतिक योजनाअनुरूप नै मौन बसेका छन् । केपी र माधव नेपालबीचको अन्तरसङ्घर्ष चर्काएर मात्र आफ्नोअनुकूल परिस्थिति सिर्जना गर्न सकिने विश्वासमा प्रचण्ड रहेका छन् । केपी र माधव एक ठाउँमा उभिए भने पार्टीको आगामी महाधिवेशनबाट आफू एकलौटी अध्यक्ष बन्ने सम्भावना न्यून हुने भएकोले पनि माधव र केपीबीच अन्तरविरोध बढ्दा प्रचण्ड र उनका हिमायतीहरू रमाउने गरेका छन् ।
प्रतिक्रिया