वामदेव गौतमका लागि निर्वाचन क्षेत्र छोड्न नेकपाका कुनै पनि सांसद तयार नभएपछि गौतमको संसद् प्रवेश अभियानमा पूर्णविराम लागेको छ । अब भवितव्यवश कुनै निर्वाचन क्षेत्र स्वतः खाली भएमा मात्र वामदेवले मौका पाउने स्थिति बनेको छ । शुरुमा ललितपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित नवराज सिलवाललाई राजीनामा गराएर त्यहीँबाट चुनाव लड्ने सोच बनाएका वामदेव नवराजसँग कुरै नगरीकन पछि हटेका थिए ।
ललितपुरबाट निर्वाचनमा विजयी बन्न नसकिने देखिएपछि गौतम पछि हटेको बताइन्छ । त्यसपछि छोरा हरिश गौतमका साथी रहेका डोल्पाबाट विजयी सांसद धनबहादुर बुढालाई छोरामार्फत कन्भिन्स गराइयो । बुढाले सांसद पद छोड्न आफू मन्त्री बन्नुपर्ने सर्त राखेपछि वामदेवले आफ्नो कोटाबाट उनलाई राज्यमन्त्री बनाइदिएका थिए ।
पूर्वसर्तबमोजिम बुढाले भदौ १५ गते नै सांसद पदबाट राजीनामा दिइसक्नुपर्ने थियो । विभिन्न कारणले राजीनामा नदिएपछि यतिबेला वामदेवले धनबहादुरबाट धोखा भएको ठानेका छन् । धनबहादुरले धोखा दिएपछि वामदेवले दर्जनौँ सांसदहरूलाई भेटी आफ्नो लागि ठाउँ खाली गरिदिन आग्रह गरिसकेका छन् ।
राजेन्द्र राईदेखि कञ्चनपुरका दीपकप्रकाश भट्ट र दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल, प्यूठानकी दुर्गा पौडेल, बझाङका भैरवबहादुर सिंहलगायत दर्जनौँ सांसदलाई वामदेवले गरेको आग्रह खेर गएको छ । अहिले राजीनामा दिने सांसदलाई डेढ वर्षपछि ६ वर्षका लागि राष्ट्रिय सभा सदस्यका साथै मन्त्री बनाइने ‘बम्पर अफर’ गर्दा कोही पनि आकर्षित नभएपछि कतिपय सांसदलाई नगदसमेत ‘अफर’ गरेको बुझिएको छ ।
करिब दुई करोड नगद अफर गर्दा पनि सांसदहरू वामदेवका लागि सिट छोड्न तयार भएनन् । त्यसैले अब वामदेवको सांसद बन्ने योजनामा पूर्णविराम लागेको छ । कुनै अप्रत्यासित र विशिष्ट स्थिति सिर्जना भएको अवस्थामा बाहेक संसद्को विद्यमान कार्यकालभित्र गौतम सांसद नबन्ने निश्चितप्रायः भएको छ ।
प्रतिक्रिया