भुकम्प र सुनामीका कारण इन्डोनेसिया साठी हजार व्यक्ति विस्थापित

भुकम्प र सुनामीका कारण इन्डोनेसिया साठी हजार व्यक्ति विस्थापित


इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ ।

उक्त कारणबाट विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन् । विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका उनले बताए ।

पूर्वोलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार हिजो मङ्गलबार एक होटलको भवन भग्नावशेषबाट १५ जनालाई उद्धार गरिएको छ । यससँगै उक्त होटेलमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । अझैपनि मानिसहरू भग्नावशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको छ ।

उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब छ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालुमा नराम्रो प्रभाव परेको छ ।