अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने धारणा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अघिसारेका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५०औँ गान्धी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजना गरेको २१औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताए ।
अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको भन्दै सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गरे ।
काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका भन्दै बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने दाबी गरे भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको रसत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता रहेको तर्क गरे ।
सोही कार्यक्रममा मन्तव्य दिँदै नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको भन्दै गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिने बताए ।
भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको जानकारी दिए । भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिने भन्दै उनले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको धारणा राखे । काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गरे ।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, प्रा वीणा पौड्याललगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताए ।
तस्बिर रासस
प्रतिक्रिया