प्रदेश नम्वर २ का युवा विद्यार्थी बेरोजगार बस्न नपर्ने दाबी

प्रदेश नम्वर २ का युवा विद्यार्थी बेरोजगार बस्न नपर्ने दाबी


हेमशंकर सिंह, राजविराज

प्रदेश नम्बर २ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले देश र प्रदेशको विकासका लागि रोजगारमुलक शिक्षा आवश्यक रहेकोमा जोड दिएका छन् ।

समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीको प्रथम अधिवेशनको मंगलवार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले अव्यावाहरिक शिक्षा नीतिका कारण शैक्षिक योग्यता भएका युवा विद्यार्थीहरु ठूलो सङ्ख्यामा बेरोजगार बस्नु परेकाले रोजगारमुलक शिक्षा दिन आबश्यक रहेको बताए ।

रोजगारमा आधारित शिक्षा नीति ल्याउने अन्तिम चरणमा प्रदेश सरकार रहेकोले प्रदेश नम्बर २ का युवा विद्यार्थीले बेरोजगार बस्नु नपर्ने दाबी समेत उनले गरे ।

देशमा व्याप्त विभेद, उत्पीडन र सबैखाले भेदभाव अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको जिकीर गर्दै मन्त्री साहले संविधान संशोधनका लागि संघर्षमा उत्रिनुपर्नेमा जोड दिए । मधेशी आदिवासी जनजाति, दलित, मुश्लिम लगायतका उत्पीडित समुदायमाथि सदियौँदेखि भएको राजनीतिक विभेदविरुद्ध एकजुट हुन उनले आग्रह गरे ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहइन्चार्ज विनोद चौधरीले आजका विद्यार्थी भविष्यका नेता भएकोले शिक्षा क्षेत्रमा रहेको विकृति र वेथितिवरुद्ध संगठनको भूमिका आवश्यक रहेको बताए ।

समाजवादी विधार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष तारकेश्वर यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम समाजवादी विद्यार्थी फोरम प्रदेश नम्वर २ का इन्चार्ज कृष्णाकुमार साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यहरु शैलेश चौधरी, अशोककुमार यादव, भीमराज यादव, चित्तनारायण यादव, सत्यनारायण यादव, नेता लक्षमण यादवले शुभकामना व्यक्त गरे ।

अधिवेशनको बन्द सत्रबाट प्रतिवेदनमाथि छलफल गरी पास गर्ने र आगामी कार्यकालका लागि जिल्ला कार्य समिति चयन गर्ने जनाइएको छ ।