थाइल्यान्डको कोराटमा भएको ३३औँ किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपाली टोलीले कांस्य पदक जितेको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कांस्य जितेको थियो । उक्त स्पर्धामा नेपालबाट रूपेश सुनार (कप्तान), सुजन डङ्गोल, रोशन तामाङ, रविन भट्टराई, सन्जित धिमाल र विजय महतोले प्रतिस्पर्धा गरेका थिए ।
समूह चरणको खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । नेपालसहित समूह ‘डी’मा ओमन, हङकङ, बंगलादेश र स्विट्जरल्यान्ड थिए । चारै राष्ट्रलाई नेपालले समान २–० को नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा पनि नेपालले फ्रान्सलाई २–० ले नै हराएको थियो । सेमिफाइनलमा भने नेपाल चाइनिज ताइपेईसँग २–० ले चुकेपछि कांस्यमै सीमित भएको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले जनाएका छन् ।
प्रतियोगितामा महिला टिमको पनि सहभागिता थियो । महिला टोली पदक जित्न असफल भएको थियो । नेपालले पुरुष, महिला दुवैमा डबल्स, रेगु र क्वाड स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया