चितवन टाइगर्स र एपीएफबीच उपाधि लागि भिडन्त

चितवन टाइगर्स र एपीएफबीच उपाधि लागि भिडन्त


आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाइगर्स र एपीएफ भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा असोज १६ गते मंगलबार सम्पन्न सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । त्यस्तै, अर्को सेमिफाइनलमा एपीएफले न्यु डायमण्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबको चुनौती ३–० को सोझो सेटमा पन्छाएको थियो । पहिलो र दोस्रो सेटमा २५–११ र २५–१४ को पराजय भोगेको पुलिसले तेस्रो सेटमा भने चितवनलाई कडा टक्कर दिएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले १९–१५ को अग्रता लिएको थियो । तर, चितवनले उत्कृष्ट पुनरागमन गर्दै २४–१९ को स्थितिमा खेल उल्टायो । त्यसपछि पुलिसले पुनः सेट पोइन्ट २३ सम्म पु¥याए पनि खेल २५–२३ ले गुमाउन पुग्यो ।

अर्को सेमिफाइनलमा एपीएफले न्यु डायमण्डलाई ३–० को सेटमा पराजित गरेको थियो । यो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेटमा २५–२२ को जित निकालेको एपीएफले दोस्रो सेट २६–२४ ले जित्यो । तेस्रो सेटमा २५–२३ को जित निकाल्दै एपीएफले चितवनसँगको भिडन्त पक्का बनाएको थियो ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशिको एभीएल विजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले तीन लाख र तेस्रो हुनेले एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।