ओलम्पियाडमा इटालीसँग नेपाल पराजित

ओलम्पियाडमा इटालीसँग नेपाल पराजित


जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडको सातौँ चरणमा नेपालको पुरुष टोली इटालीसँग २.५–१.५ ले पराजित भएको छ । इटालीसँगको खेलमा नेपालले अन्तिम क्षणमा बराबरी गर्ने मौका गुमाएको थियो । पराजयसँगै नेपाले आठ अंक बनाएको छ ।

नेपालका सीएम हिमाल लामाले इटालीका माकल गाडेनालाई हराए । हिमाल जारी ओलम्पियाडमा जीएमलाई पन्छाउने दोस्रो नेपाली खेलाडी हुन् । यही प्रतियोगिताको पहिलो चरणमा नेपालका रिजेन्द्र राजभण्डारीले क्यानडाका जीएमलाई हराएका थिए । तीनजना जीएम र एक आईएमसँग भिडेको नेपाली टोलीमध्ये रिजेन्द्रले आईएम अलेसियो भाल्सेचीलाई बराबरीमा रोकेका थिए । अर्को बोर्डमा मदनकृष्ण कायस्थ लुका मोरोनीसँग र रूपेश जैसवाल साविनो ब्रनेलोसँग पराजित भए । आठौँ चरणमा नेपालले आयोजक जर्जिया–२ सँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी महिलातर्फ सातौँ चरणमा नेपाल विजयी भएको छ । नेपालले खेलमा सुरिनामलाई २.५–१.५ ले पराजित गरेको हो । नेपालकी मोनालिसा खम्बुले अलेक्ससान्द्रालाई र सुजना लोहनीले रेना फ्रिज्डेलाई हराए । सिन्दिरा जोशी क्याथरिन कास्लानलाई बराबरीमा रोक्न सफल भइन् । सुशीला गुरुङ क्यातलिन तिजोङ जोईसँग पराजित भएकी थिइन् । आठौँ चरणमा नेपालको महिला टोलीले निकारागुवासँग प्रतिस्पर्धा गर्नेछ ।