आठौँ राष्ट्रिय खेलकुद माघ २५ देखि

आठौँ राष्ट्रिय खेलकुद माघ २५ देखि


युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दुई महिना पछि सारेको छ । उक्त बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म आठौँ राष्ट्रिय प्रतियोगिताको नयाँ मिति पनि तोकेको छ । नुवाकोटको ककनीमा दुई दिनसम्म बसेको राखेपको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि आठौँ राष्ट्रिय प्रतियोगिता मंसिर २१ देखि २८ गतेसम्म मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा आयोजना हुने निर्णय गरेको थियो । आठौँ राष्ट्रिय प्रतियोगिता तोकिएकै मितिमा गर्न सकिने भए पनि राष्ट्रिय प्रतियोगिताको स्तरीयतालाई मध्यनजर राख्दै मिति सारिएको राखेप स्रोतले जनाएको छ । अहिले तोकिएकै समयमा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न विशेष तयारी भए पनि त्यो प्रतियोगिताको लागि तोकिएको समय अपुरो हुने देखिएकोले बोर्ड बैठकले यस्तो निर्णय गरेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार दुई महिना पछि सार्दा राष्ट्रिय प्रतियोगिता स्तरीय रूपमा आयोजना हुने र यसले राष्ट्रिय प्रतियोगिताको औचित्य पनि पुष्टि गर्ने राखेप जनाएको छ । साथै भौतिक पूर्वाधारकोे निर्माणमा देखिएको कमी–कमजोरीलाई पनि दुई महिनाको समयले पूर्णता दिने स्रोतले जनाएको छ । साथै बैठकले आठौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ ।