नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने दाबी गरेका छन् । आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महिना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने तर्क गरे ।
चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उनले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने जिकीर गरे । पुराना अवशेष हटाउन समय लाग्ने भएकोले घोषणालाई अहिल्यै खोज्न थाल्नु अस्वाभाविक हुने उनको तर्क छ ।
जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उनले प्रतिपक्षीमा रहेका दलले बढाइचढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको आरोप लगाए ।
सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उनले यी सबै कुरा विस्तारै हट्दै जाने बताए । पार्टीभित्रको असन्तुष्टिलाई चाहिँ गौतमले घरभित्रको सामान्य कुरा भन्दै टारे ।
केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालद्वारा दिइएको अभिव्यक्तिको ढाकछोप गर्दै उनले आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय गर्यो भन्ने गुनासो मात्रै माधव नेपालले गरेका बताए ।
तस्बिर रासस
प्रतिक्रिया