बालसाहित्य सम्मेलनमा दृष्टिविहीनहरूलाई भेट्दा

बालसाहित्य सम्मेलनमा दृष्टिविहीनहरूलाई भेट्दा


-मधुसूदनप्रसाद घिमिरे
नेपाली बालसाहित्य समाजको २१औँ सम्मेलनमा सामेल हुने निम्तो आयो । ०६७ साल फागुन १३ गते भृकुटीमण्डपमा बिहान ७ बजे नै भेला हुने तय भयो । धेरै साथीभाइहरूसँग एक-आपस गफ भए । ट्राफिकले धेरैबेर त्यहाँ बस राख्न नदिए नि हाम्रो टोली त्यहीँ बसिरह्यो । एक घन्टा ढिलोसम्म नै । बस गुड्न किन ढिलो भयो त्यसको भेउ सबै यात्रुहरूलाई थिएन । किन कसलाई कुरिँदै छ सबै अनभिज्ञजस्तै गफ गर्थे । यात्रुहरूको भीडमा गंगा पौडेल र उहाँको श्रीमान् हेम पौडेल पनि उपस्थिति देखिइरहेको थियो । आठ बजिसकेपछि शारदा शर्माको आगमनले बस कुराइको समय सकिएको सङ्केत भयो । पाल्पामा हुने २१औँ सम्मेलनका लागि यात्रुहरू थियौँ हामी । ट्राभल्सका दुईवटा ठूला बसमा खचाखच बसेका यात्रुहरूको परिचय सबैजनाले बस चढ्ने ठाउँमा हुने सम्भव भएन पनि । बसमा मसँगै सिटमा हुनुहुन्थ्यो स्रष्टा हरिहर खनाल ।
रामबाबु सुवेदीको अध्यक्षतामा रहेको नेवासासको सम्मेलनमा जाने स्रष्टाहरू जुंगाको रेखी बसेकादेखि वृद्ध अवस्थाका समेत करिब असी/पचासीभन्दा बढी सहभागीमा भारतीय लेखकहरू पनि थिए । बस गुड्न थाल्यो । हेम पौडेल बसमा हुनुहुन्न उहाँ छुट्नु भो भन्ने हल्ला बसभित्र सुनियो । कतैबाट आदेश आयो- ‘उहाँलाई ट्याक्सीबाट कलंकीसम्म आउनु भन्नू ।’ बसमा कोही-कोही गफ गर्दै थिए । ‘शारदाजी अलि अबेला आउनुभएको भए सायद हेमजी छुट्नु हुने थिएन । नभन्दै कलंकी पुगेपछि हेमजी बस चढ्नुभयो ।
मुगलिङभन्दा अलिपर होटल हेभेनको खानाले पेटसम्म भरियो । आकरि्षत भइएन । यात्रा दिनभरिको नै रह्यो । बाटामा गीत, कविता पढ्नेले पढे । रामबाबुजीको कविता ‘चम्चाहरूले डसे’ शीर्षकको सबै कविता पढेपछि कविताको रमाइलो महसुस गरिएको थियो । दिनभरिको यात्रापछि बेलुकी आठ बजेतिर पाल्पा पुगियो । होटल हिललेक साइडमा सबै यात्रु एउटै घरमा अटायौँ । बस्ने-खाने क्रममा साना-ठूला पनि भेदभाव भएन । सबै एकैनासका कोठामा बस्यौँ, राम्रै भो । त्यहाँ गएपछि केही अनुहारहरू साक्षात्कार भए । डा. चूडामणि बन्धु, डा. महादेव अवस्थी, प्राज्ञ गंगाप्रसाद उपे्रती, भुवनेश्वर सत्याल, सत्याल प्रकाशनका हेमलाल पोखरेल, छायादत्त न्यौपाने, नागरिकका सन्तोष न्यौपाने, हिरण्यकुमार पाठक, शान्त दास, टेकवीर मुखिया, धु्रव घिमिरे, आनन्दप्रकाश नेपाल, विजयराज न्यौपाने, विनय कसजु, लक्ष्मी उपे्रती, नेवासासका पदाधिकारहिरू, -प्रमोद प्रधान, केके कर्माचार्य, अमरकुमार प्रधान र गोपीकृष्ण यी चार जनाबाहेक) कृष्णदीप सिग्देल, देवी ढकाल, बिन्दु सुवेदी, ललिता दोषी, कास्कीका देवीप्रसाद वनवासी आदि ।
होटलमा मसँगैसँगै बस्ने कोठाका साथी हुनुहुन्थ्यो विष्णु भट्ट । ०६७/११/१४ बिहानीमा कार्यक्रम सुरु भयो तानसेन नपा भवनमा । आठ-दसवटा पुस्तक विमोचन भए । वर्षभरिमा प्रकाशित राम्रा पुस्तक भनेर पुरस्कार बाँडियो । सम्मानपत्र ओड्ने र खादाले केही व्यक्ति सम्मानित भए । सबै ठीकै भए । नेवासासका यस्ता सम्मेलनमा मैले योभन्दा अगाडिका वर्षहरूमा पनि धेरैपटक भाग लिने अवसर पाएको हुँ । पहिलापहिला हुने सम्मेलन जसरी हुन्थे अहिले पनि सोही तरिकाबाट कार्यक्रम चलाइयो । नयाँ कार्यशैलीजस्तो केही फरक देखिएन । तर विगतभन्दा सहभागिता बढी रहेकोले रामबाबुजीलाई बधाई भन्नैपर्छ ।
धवल पुस्तकालयमा कार्यपत्र प्रस्तुतिका लागि पुग्दा सबै सहभागीलाई पाल्पालीले माला लगाई स्वागत गरे । कार्यक्रमको रौनक भएका बेला पानी परेर कार्यक्रमलाई अलि बिथोल्यो । त्यहीबेला मन अलि खल्लो हुनपुग्यो ।
०६७/११/१५ गते बाँकी कार्यपत्र पढ्ने र स्थानीय विद्यार्थीलाई कथा, कविता, चित्र प्रतियोगिता आदि कार्यक्रम गरी दोस्रो दिनको सम्मेलन पनि पूरा भयो ।
बेलुकी नै होटेल छाडेर झोली-तुम्बा बोकी बस चढ्न टुँडिखेल धाउनुपर्‍यो । पाल्पा तानसेन सहर बजार रमाइलो नै लाग्यो । उकाली-ओराली सबैतिर सफा, सबैजसो घरमा मोटर पुग्न सक्ने बाटो कतै पिच, कतै सिमेन्ट ढलान बाटो ऐतिहासिक प्रगति बोकेको पाल्पा सहरमा पसलमा ठगिनबाट चाहिँ अलि जोगिनुपर्ने रहेछ । मालको मोलभन्दा बढी नै तिर्नुपर्ने रहरलाई बाध्यतामा परिणत गर्नुपर्ने परिस्थितिले अलि टीठ लाग्न पुग्यो ।
बेलुकी ५ बजिसकेपछि पाल्पा तानसेनबाट हामी सबै मदन पोखराका लागि हिँड्यौँ । सानो बाटो ठूलो बस निकै र्सतर्कताका साथ गाडी बिस्तारै हाँकेर करिब आठ बजेतिर गाडीले हामीलाई पाल्पाभन्दा आठ किलोमिटर तल पर्ने मदनपोखरामा ल्याइपुर्‍यायो । औंसी आउने कालो रात- हामी कहाँ छौँ, कस्तो ठाउँमा छौँ, मैले अनुभव गर्न सकिनँ । मैनटोलको उज्यालोमा हाम्रो लस्करलाई दमकडा उमावि प्राङ्गणमा पुर्‍याइयो । सेता छडीको सहाराले हिँड्ने त्यहाँका केही विद्यार्थीले साहित्यकारलाई स्वागत भनेर गीत गाए । तिनका गीत सुनेर स्तब्ध नहुने कोही भएन ।
ऐरावती प्रकाशनका प्रकाशक एवम् लेखक रामदेव पाण्डेले सोही अवसरमा ‘जीवन फूल कि काँडा’ शीर्षकको झमककुमारीको पुस्तक दिँदै भन्नुभयो, ‘तपाईंहरूले पढ्न पाउनुभएको छ, यी लेखिकाभन्दा तपाईंहरू भाग्यमानी हुनुहुन्छ । बाहिरी आँखाले देख्नेहरूभन्दा भित्री आँखाले देख्ने तपाईंहरूका लागि यो पुस्तक पे्ररणाको स्रोत बन्न सक्छ । अहिलेलाई सानो सहयोग रु. ५००।- र यो पुस्तक यहाँहरूलाई र्समर्पण गरेँ । तपाईंहरूले मिलिजुली पढ्नुहोला ।’
हुन त सहभागी स्रष्टाहरू सबैको साथमा थोरबहुत पैसा हुँदो हो । तर, कसैले आँट नगरिरहेको अवस्थामा रामदेवले मौका पारेको रामै्र हो भन्ने ठानेँ ।
रामबाबुजीले नेवासासको तर्फबाट सहयोग रु. ५ हजार दिने घोषणा गर्नुभयो । अनि त्यहाँ पढ्ने दृष्टिविहीन विद्यार्थीमध्ये उत्कृष्ट एकजनालाई रु. २५०० पुरस्कार दिने र विद्यार्थीको छनोट त्यहाँकै प्रअले गर्नुपर्ने जानकारीले हामी सहभागीहरूलाई शिर ठाडो पार्न सहयोग पुर्‍यायो ।
त्यहाँको गीत-मन्तव्यलाई हामीहरू सबैजना मैनटोलको सहाराले अर्को बोर्डिङ स्कुल कम्पाउण्डतर्फ जान लस्करै लाग्यौँ । त्यहाँ ठूलो चौर रहेछ । सबै सहभागीलाई तातो-तातो खानाले पेट भराइयो । आगो ताप्नका लागि दाउरा दन्काइएको थियो । उदरले आराम पाएपछि मादल खैंजडीको रन्को आउन थाल्यो । ठिटा-मिटा, बलिया-बाङ्गा नाचगानमा रमाउन थाले । एक किसिमको रमाइलो भइरहेको थियो । त्यहाँका स्थानीय व्यक्ति, शिक्षक, विद्यार्थी सबैको सहयोगले त्यो रात्रिको कार्यक्रममा निकै रौनक थपेको अनुभव भयो । सबैको खुसी-हाँसो देखेर हामी सहभागीहरूलाई पनि पाल्पासम्म गएको र्व्यर्थ भएनछ भन्ने सन्तोष लाग्यो ।
होमस्टे अर्थात् सहभागीहरूलाई विभिन्न व्यक्तिले आफ्नो घरमा लगेर सौहार्दपूर्ण वातावरणमा स्नेहका साथ सुत्ने व्यवस्था मिलाइयो । त्यो देखेर मदनपोखराका बासिन्दाको स्नेहले साहित्यकारको मन जित्यो भन्न मन लाग्छ । त्यहाँका स्थानीय व्यक्तिहरूको घरमा को-को कस-कसकहाँ सुत्न गए भन्ने जानकारी नभए पनि नुवाकोटका नरबहादुर, म, डा. शैलेन्द्रप्रकाश नेपाल र चितवनका शिक्षक बन्धु चौधरीजी हामी चारजना खाना खाएको ठाउँबाट पैदल बीस मिनेटजति सडकैसडक हिँडेर माधव बस्यालजीको घरमा सुत्न गयौँ ।
बाहिरी ढोकामा तिहारमा बालिनेजस्तै गरी झिलिमिली बत्ती बालिएको थियो । कम्पाउन्डवालमा रंगरोगन गरेको सफा घर रहेछ बस्यालजीको र उहाँ र उहाँका परिवार फरासिला, मिजासिला खालका रहेछन् । एक छोरा र एक छोरीका धनी परिवारले हामीहरूलाई त्यहाँ पुगेपछि तातोपानी पिउन दिएर सत्कार गरे । आरामदायी बिछ्यौनामा सुताए । तुलसीको मठ रहेको त्यो घरका परिवारको भनाइमा मदनपोखरा तरकारी खेतीको उर्वर भूमि रहेछ । मौसमअनुसार दैनिक पाँच/छ ट्रक तरकारी त्यो ठाउँबाट बुटवल, भैरहवा हुँदै भारतमा पनि भित्रिइन्छ भन्ने जानकारी पाइयो । काठमाडौंजस्तो धुलो-धुवा प्रदूषणयुक्त ठाउँमा बसोबास गर्ने खचाखच घर देखिने, हरियो देख्न नपाउनेहरूका लागि त्यो ठाउँ स्वर्गीय आनन्द दिन्छ कि भन्नेमा नहिचकिचाए हुन्छ । अर्को कुरा त्यो ठाउँमा माण्डव्य ऋषिले तपस्या गरेको ठाउँ रे । त्यो ठाउँ एउटा पुण्यभूमि हो रे । त्यहाँका स्थानीयले गरेको गफ मैले यस्तै सुनेको हुँ । त्यस्तो महत्त्वपूर्ण ठाउँको अवलोकन गर्ने रहर नपुगी २०६७ फागुन १६ गते बिहानै उठेर हामी काठमाडौं फर्केको हुँदा त्यो ठाउँमा पुग्ने दुःख मात्र भयो कि भन्न मन लाग्छ ।