सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
विश्वचर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार पाउनेमा दुईजना अमेरिकी र एकजना बेलायती नागरिक छन् ।
‘द रोयल स्विडिस् एकेडेमी अफ साइन्सले बुधबार उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।
सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस अर्नोल्ड र जर्ज स्मिथ तथा बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर रहेका छन् ।
जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो । उनीहरूले ‘डिरेक्टिड इभ्युलुसन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए ।
यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ ।
पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्विडिस क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनेछन् भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनेछन् ।
यसअघि गत सोमबार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने भोलि शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्रतर्फका नोबेल पुरस्कारका विजेताको नाम घोषणा गरिनेछ ।
यस वर्ष साहित्य विधाको नोबेल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।
प्रतिक्रिया