नयाँ वर्षको शुभकामना– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
आयो वर्ष नयाँ भयो अब नयाँ झन् झन् भयो झन् नयाँ
सारा सृष्टि नयाँ र सिर्जन नयाँ सत्प्रेरणा भो नयाँ
छायो हर्ष नयाँ उमङ्ग मनमा आशा– भरोसा नयाँ
धर्ती भो हरियो नयाँ, कुसुमले शृङ्गार भर्दा नयाँ ।।१।।
गर्ने काम नयाँ बने मगजमा झन् योजना भो नयाँ
भर्ने लक्ष्य नयाँ हुँदा अझ नयाँ फेर्ने पुरानो नयाँ
हेर्ने दृष्टि नयाँ समग्र दुनियाँ–सिद्धान्त आयो नयाँ
फेर्ने जीवन भो, विचार र नयाँ आदर्श उस्तै नयाँ ।।२।।
खेल्ने खेल नयाँ र उन्नति नयाँ गर्ने इरादा नयाँ
बोल्ने बोल नयाँ वसन्त धुनको आयो जमाना नयाँ
चल्ने चालसमेत भो जब नयाँ इच्छा अनेकौँ नयाँ
आकाङ्क्षा दिलमा हजारथरी भो संसार हेर्ने नयाँ ।।३।।
लागे पात नयाँ भए तरु नयाँ झर्दा पुराना नयाँ
खोला, खोंच, नदी बगे हुन नयाँ झाडी विराना नयाँ
पानी, घाम नयाँ हुँदै दिन तथा राति भए झन् नयाँ
तारा व्योमविषे नयाँ, जलपले शोभा भए चन्द्रमा ।।४।।
फुल्दा पूmल नयाँ, उने कुसुमले बुट्टा नयाँ बान्किला
वर्षा– बादल भो नयाँ प्रकृतिमा खुल्दा सुनौला छटा
बल्दा दीप नयाँ, बढे हिमचुली, धप्के धरा धप्धप
भर्दै रङ्ग उषा झरिन् धरणीमा भो मङ्गलै–मङ्गल ।।५।।
निद्रा भङ्ग भयो, तरङ्ग मनका उक्ले उँभो द्यौस्थल
पूर्णे झल्मल देखिए गगनमा फाटे घना– बादल
चारैतर्फ बढाइँ भो धुनसँगै बाजा बजे नौमती
लाए मानिसले बसेर दिलमा एकान्तमा पिरती ।।६।।
जो–जो वृद्ध थिए असक्त दुनियाँ फर्के जवानीतिर
लागे बालक–बालिका हुन नयाँ आकाश बोकी शिर
रोगी मानिस ठीक भैकन उठे आयो नयाँ जाँगर
गर्ने देश विकास भो मनसुवा लौ हेर चारैतिर ।।७।।
पृथ्वी टक्क अडिन्, घुमी पलकमा मारेर फन्को सरिन्
इच्छा शान्ति फलाउने मन हुँदा सङ्कल्प नौलो गरिन्
प्राणीमाथि दया भरेर करुणा वर्षासँगै ओर्लिइन्
आपैँm स्वर्गसरी भएर धरती झन् स्वर्गबाटै झरिन् ।।८।।
हामीबाट बिदा भएर अहिले गैगो उसै सत्तरी
लाग्दो साल छ एकहत्तर नयाँ छाएर धर्तीभरि
ल्याओस् शान्ति र संविधान पहिलो स्थायी गरोस् निर्णय
भन्ने यो शुभ–कामना दिऊँ भनी मैले गरेँ उत्तर ।।९।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
निर्मल बाबा– लक्ष्मी सिलवाल अधिकारी
जीव–जन्तु, माटो, जल, ढुङ्गा होस् वा हावा
अस्तित्व तिम्रो जताततै, जय होस् निर्मल बाबा
कठिन कठोर काममा, सदा साथ पाइरहुँ
उज्यालो छर्ने तिम्रो नाममा, गीत सधैँ गाइरहुँ
सोच तिम्रो अनन्त छन्, कल्याण गर बाबा
माया तिम्रो असर छन्, जय होस् निर्मल बाबा
सच्याइमा रम्न सकौँ, भलाइमा सन्तोष गरौँ
पीडा हेर्ने तिम्रो नाममा, भरोसा गरिरहौँ
शक्ति तिम्रा दुर्लभ छन्, आशिष देऊ बाबा
कृपा तिम्रो अपरम्पार छन्, जय होस् निर्मल बाबा
जीव–जन्तु, माटो, जल, ढुङ्गा होस् वा हावा
अस्तित्व तिम्रो जताततै, जय होस् निर्मल बाबा ।।
प्रतिक्रिया