त्रिचालीसौँ चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीको उपाधि यात्रा केही कमजोर बनेको छ । आठौँ चरणको खेलमा नेपाल आयोजक जर्जिया–२ सँग ३.५–०.५ ले पराजित भयो । उपाधिका लागि अब नेपाललाई बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ । समूह ‘डी’मा आठ अंक बनाएको नेपाल दोस्रो स्थानमा झरेको छ । समान अंक बनाएको दक्षिण कोरिया शीर्ष स्थानमा उक्लिएको छ ।
जर्जियासँग नेपालका लागि विवेक थिङले मात्र बराबरी नतिजा निकालेका थिए । उनले डाभिट माघालासाभिलीलाई बराबरीमा रोकेका थिए । रिजेन्द्रराज भण्डारी गिगा क्युपाराडेजसँग, रूपेश जैसवाल इराक्ली बेराडजे र हिमाल लामा लुका पिचाडेजसँग पराजित भएका थिए । नवौँ चरणमा नेपालले युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी महिलातर्फ आठौँ चरणमा नेपाल निकारागुवासँग २.५–१.५ ले पराजित भयो । नेपालकी सुजना लोहनीले जोहन लियोन सान्डोभललाई हराइन् । मोनालिसा गम्बुले इलन जोएनीसँग बराबरी खेलिन् भने सिन्दिरा जोशी मारिया स्थारसँग र खुश्बु थापा जोस मारियासँग पराजित भएकी थिइन् । नवौँ चरणमा नेपालले ट्रिनिडाड एन्ड टोवाकोसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया