आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगितामा चितवन टाइगर्स च्याम्पियनको बनेको छ । असोज १७ गते बुधबार भएको उपाधि भिडन्तमा चितवनले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरि नै दबाबमा राख्यो । पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भएको थियो ।
उपाधिसँगै चितवनले ६ लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ । तेस्रो भएको न्यु डायमण्डले एक लाख ५० हजार पाएको छ । तेस्रो स्थानको प्लेअफमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो ।
चितवन टाइग्रेसकी सेटर अरुणा शाही उत्कृष्ट खेलाडी चुनिइन् । उनले नगद ५० हजार र एक थान स्कुटर जितिन् । प्रायः पश्चिमाञ्चलबाट स्पाइकरको भूमिकामा कोर्टमा उत्रिने अरुणाले सेटरको भूमिकालाई प्रमाणितसमेत गरेकी छिन् । अरुणाले सेटरको रूपमा राष्ट्रिय टिममा आफ्नो दाबेदारी पनि प्रस्तुत गरेकी छिन् ।
विजयी टोलीलाई पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, आदी–आवादी फाउन्डेसनका सीईओ दिनेश सिंहलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया