गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारबाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन अक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारवबाही गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । त्यस्तै, हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।
विद्यार्थी संगठनले दैनिकजसो बलात्कारका घटना, तेजाब प्रहारका शृंखला र हत्याको घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी संगठनका पदाधिकारी गृह मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया