नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको लागि निर्धारित कार्यसमिति बैठक सरेको छ । विशेष कारण भन्दै केन्द्रिय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको हो ।
काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बैठक बोलाएकोमा अब आगामी २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएकोमा कारणवश तीन दिनका लागि पछि सार्नुपरेको हो ।
यसैबीच नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले विहिबार राजधानीमा आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उनले काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन नसक्ने बताए ।
महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिए ।
सोही अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन नसक्ने धारणा अघि सारे । उनले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोप पनि लगाए ।

प्रतिक्रिया