विश्व उमा कुङफु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली युकेको अर्चोस्टर प्रस्थान गरेको छ । अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् ।
कमलले तीन स्पर्धा मोङकी बक्सिङ, नाइन स्टिक्स र किकबक्सिङमा सहभागिता जनाउनेछन् । मुन्नीले ताइची स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मुन्नी गत सेप्टेम्बरमा जर्मनीमा सम्पन्न १२औँ विश्व मार्सल आर्ट च्याम्पियनसिपकी कांस्य विजेता हुन् ।
प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । टोलीलाई अध्यक्ष लामासहित संघका पूर्वअध्यक्ष उद्धव थापामगर, उपाध्यक्ष सन्जित राई, कोषाध्यक्ष सुकमान लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रतिक्रिया