ओलम्पियाडमा नेपालद्वारा युगान्डा पराजित, उपाधि होड कायमै

ओलम्पियाडमा नेपालद्वारा युगान्डा पराजित, उपाधि होड कायमै


जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको हो । नवौँ चरणको खेल जितेपछि नेपालको १० अंक बटुल्न सफल भएको छ ।

समूह ‘डी’मा रहेको नेपाल दोस्रो स्थानमा छ । समान १० अंक बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलंका तेस्रो स्थानमा छन् । ३० देश सहभागी यस समूहमा बाँकी दुई खेलमा सफलता हात पारेको नेपालले पदक जित्नेछ ।

नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टिन्टीलाई पराजित गरेका थिए । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए । हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए ।

दशौँ चरणमा नेपालले बलियो चिलीसँग प्रतिस्पर्धा गर्नेछ । वरीयतामा ४९औँ स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । वरीयतामा नेपाल एक सय १८औँ स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौँ चरणको खेलमा नेपाले ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दिरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । सुशीला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौँ चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।