इन्डोनेसियामा भूकम्पपछि सुनामी : १५५८ को मृत्यु, अझै हजारभन्दा बढी बेपत्ता

इन्डोनेसियामा भूकम्पपछि सुनामी : १५५८ को मृत्यु, अझै हजारभन्दा बढी बेपत्ता


इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ५८ पुगेको छ भने एक हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए ।

बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा खोजी र उद्धारकार्य जारी छ । उक्त भवनमा कति व्यक्ति थिए भन्ने अझै थाहा हुन सकेको छैन । तर, भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हँुदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघको भनाइ छ ।

इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ५५८ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले आज (शुक्रबार) बताएका छन् ।

भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्यक परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।