के रोनाल्डोले बलात्कार गरेकै हुन् त ?

के रोनाल्डोले बलात्कार गरेकै हुन् त ?


क्रिष्टियानो रोनाल्डोको चर्चा यतिबेला पुनः चुलिएको छ । यतिबेला उनको चर्चा फुटबलमा कुनै चमत्कार गरेको नभई बलात्कारको आरोप लागेर चुलिएको हो । चर्चित मोडल क्याथरिन मायोर्गाले आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएपछि रोनाल्डो विवादमा तानिएका हुन् । क्याथरिनले बलात्कार भएको केही समयपश्चात् नै रोनाल्डोविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

घटना एक दशकअघि अर्थात् सन् २००९ हो । अमेरिकाको लसभेगास पाल्स होटेल एन्ड क्यासिनोमा सँगै गएको बेला रोनाल्डोले आफूलाई बलात्कार गरेको क्याथरिनको आरोप छ । यतिबेला यो घटनालाई गुपचुप राख्न रोनाल्डोले पीडित क्याथरिनलाई ३ लाख ७५ हजार डलर दिएको समाचारले विश्व फुटबल जगत्लाई तताएको थियो ।

अहिले यो घटनालाई भेगास पुलिसले पुनः अनुसन्धान गर्ने भएपछि एक दशकदेखि ओझेलमा परेको यो मुद्दाले रोनाल्डोलाई फेरि विवाद तानेको छ । रोनाल्डोले यी सबै आरोपको खण्डन गर्दै क्याथरिनको आरोप लगत भएको बताएका छन् । यो आफूलाई चर्चामा ल्याउन क्याथरिनले चालेको चाल भएको रोनाल्डोको भनाइ छ । तर, क्याथरिनले जर्मनको एक न्युज पेपरमा दिएको अन्तर्वार्तामा रोनाल्डोले आफूलाई सोही होटेलमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।

रोनाल्डोमाथि बलात्कारको आरोप लागेपछि अहिले उनको खेलजीवनमा पनि प्रभाव परेको छ । विभिन्न प्रायोजकहरूले उनको साथ छोड्ने संकेतसमेत देखाएका छन् । तर, युभेन्टसले भने रोनाल्डोको समर्थन गरिरहेको छ । उनी सोही क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।