द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा. डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्षा बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
‘दुवै व्यक्तित्वले युद्ध र सशस्त्र द्वन्द्वमा यौनहिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकाले यस वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो’, बेरिटले भनेका छन् ।
उनले युद्धको समयमा महिला र उनीहरुका आधारभूत अधिकार तथा सुरक्षालाई सम्मानित र संरक्षित गर्न सकिए मात्र शान्तिपूर्ण विश्व निर्माण गर्न सकिने बताए ।
पुरस्कृत व्यक्तित्वमध्ये एक जना चिकित्सक र अर्को बलात्कार पीडित युवती हुन् । दुवैले विश्वकै यौनहिंसाजस्तो अभिषापका विरुद्ध सङ्घर्ष गरेका छन् र यसमा धेरैले योगदान गरेपनि यो पुरस्कारले त्यसैको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ । यो पुरस्कारको घोषणा विश्वभर तरङ्ग ल्याइरहेको मीटु नामको अभियानको पहिलो वार्षिक समारोहका अवसरमा गरिएको छ ।
पुरस्कृत व्यक्तित्व ६३ वर्षीय मुकवेगेले दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यौनहिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनस्र्थापित गराउन लगातार कार्य गरिरहेका छन् ।
कङ्गोको दक्षिण किभुमा सन् १९९९ मा पान्जी अस्पताल स्थापना गरी उनले बलात्कार र यौनशोषणमा परेका दशौं हजार पीडित महिलाको उपचार गरेका छन् ।
‘डक्टर मिराकल’ अर्थात् चमत्कारिक चिकित्सकको उपनामले पनि चिनिएका डा. मुकवेगे युद्धमा महिलाको शोषण विरुद्ध आवाज उठाउने प्रखर व्यक्तित्व हुन् । उनले बलात्कारलाई ‘आम विनाशकारी हतियार’को रुपमा समेत व्याख्या गर्ने गरेका छन् ।
अर्कोतर्फ इराकी २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कार पीडित हुन् । उनलाई इस्लामिक स्टेटका लडाकूले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए । लडाकूको पञ्जाबाट फुत्किनुअघि उनलाई तीन महिनासम्म यौनदासी बनाइएको थियो ।
कुर्द–भाषी अल्पसंख्यक याजिदी समुदायका हजारौं महिला र बालिकालाई लडाकूहरुले अपहरण गरी बलात्कार र चरम सजाय दिएका थिए । राष्ट्रसङ्घले यो घटनालाई जातीय नरसंहारको सज्ञा दिएको छ ।
सन् २०१४ अगष्टमा उत्तरी इराकबाट अपहृत मुरादलाई लडाकूहरुले इराककै मोसुल सहर लगेका थिए, र त्यहाँ उनमाथि सामूहिक बलात्कार, यातना र कुटपिट गरिएको थियो । लडाकूहरुले इसाइ धर्म मान्दै आउनुभएकी मुरादलाई जबर्जस्ती इस्लामिक धर्म अनुशरण गर्न लगाएका थिए ।
याजिदी समुदायको सुरक्षाका सन्दर्भमा विश्वभर चिनिएकी मुरादलाई मानव बेचखबिखन पीडितका लागि राष्ट्रसङ्घीय राजदूतको रुपमा समेत नियुक्त गरिएको थियो ।
मुकवेगे र मुरादले स्वर्ण पदकसहित संयुक्त रुपमा १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । उक्त पुरस्कार डिसेम्बर १० मा ओस्लोमा एक समारोहबीच प्रदान गरिने छ ।
प्रतिक्रिया