सम्पत्ति विवरण नबुझाउने शिक्षकको संख्या ११६२३

सम्पत्ति विवरण नबुझाउने शिक्षकको संख्या ११६२३


विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष ०७४–०७५ मा ११ हजार ६ सय २३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।

७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४ सय ८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले बताए ।


भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

उनले संकलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

उपनिर्देशक बुढाप्रिथीले करिब चार हजार शिक्षकले आफ्नो संकेत नम्बर गलत भरेर बुझाएको जानकारी दिए । उनका अनुसार आव ०७३–७४ मा ११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।