पाठक मञ्च

पाठक मञ्च


pathakmanchजनमोर्चासँग मेरो के साइनो ?
जनमोर्चा भन्ने दलमा कहिल्यै संलग्न नरहेको, ०४९ सालदेखि नै नेपाल विद्यार्थी सङ्घको झन्डामुनि गोलबद्ध भई ०५१ मा स्ववियु सभापति, ०५२ मा नेविसङ्घ रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै काङ्ग्रेस जिल्ला समितिमा सहसचिव, महासमिति सदस्य र हाल पनि नेपाली काङ्ग्रेस रुकुम जिल्ला सभापतिको दायित्व इमानदारी र कुशलताका साथ निर्वाह गरिरहेको म मानबहादुर नेपाली लोकप्रिय घटना र विचार साप्ताहिकको वैशाख १० को अङ्कमा प्रकाशित एक समाचार पढेर स्तब्ध एवम् अत्यन्त दुःखी भएको छु । मेरो बुझाइमा जनमोर्चा भन्ने दल प्रकारान्तरले हालका माओवादी/एमाओवादीकै जन्मदाता निकाय हो । देशलाई नै धराशयी तुल्याउन अहम् भूमिका खेलेको यस्तो समूहमा मेरो कहिल्यै आबद्धता रहेन । म स्वयम् पनि माओवादीपीडित नागरिक हुँ । रुकुमको आठबिसकोट गाविसस्थित जग्गाजमिन माओवादीले कब्जामा लिँदा र ०५२ सालदेखि नै विस्थापित हुनुको पीडा व्यहोर्नुपर्दा एक प्रजातान्त्रिक राजनीतिमा होमिएको योद्धा हुनुको नाताले कति प्रताडना सहनुप¥यो, बयान गरेर सकिन्न । रुकुमबाट विस्थापनमा परेका करिब हजार नागरिकमध्येको म पनि एक हुँ । जनयुद्ध भनिने सो कालखण्डमा रुकुमका सय नेपाली नागरिकले ज्यान गुमाउनुप¥यो भने पचासजतिले अहिले अपाङ्ग भएर बाँच्नुपरेको छ । शान्तिसम्झौतापछि जग्गा–जमिनमाथि कब्जा नरहेकाले गाउँ जान सकिने स्थिति छ, तथापि सदरमुकामलाई नै मुकाम बनाएर सारा राजनीतिक क्रियाकलाप सञ्चालन गरिरहेको छु । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न कहिल्यै पछि नहट्ने व्यक्ति हुँ म । कसैको ढोका चहारेर जागिर या कुनै लाभ लिने स्वभावको व्यक्ति पनि म होइन । देश र जनताको सेवा गर्ने उद्देश्यले राजनीति गरिएको छ, गरिन्जेल इमान र स्वाभिमानका साथ नै गरिनेछ । त्यसैले ‘दलित आयोग छिर्न ग्रिनकार्ड त्याग्न तयार’ शीर्षकमा प्रकाशित समाचारमा मलाईसमेत जबर्जस्ती मुछेर मिथ्या सामग्री प्रकाशित भएकोमा अत्यन्त दुःखी छु । मेराबारेको नकारात्मक कुरा पुष्टि भए जे सजाय भोग्न पनि तयार छु ।
– मानबहादुर नेपाली, जिल्ला सभापति (रुकुम काङ्ग्रेस)

भ्रामक समाचारले बज्रपात गरायो
गत १० गते बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित ‘दलित आयोग छिर्न ग्रिनकार्ड त्याग्न तयार’ शीर्षकको समाचारमार्फत ममाथि निकै ठूलो प्रहार भएको रहेछ । उक्त समाचारमा उल्लेख भएका कुराहरू सबै कपोलकल्पित र भ्रामक मात्र नभई मुलुकको लोकतान्त्रिक आन्दोलनमा अनवरत होमिँदै आएको मजस्तो एक साधारण तथा निर्दोष व्यक्तिमाथि गरिएको अमानवीय प्रहार पनि हो । समाचारमा भनिएजस्तो व्यक्ति म हो कि होइन भन्ने त मलाई नजिकबाट चिन्ने जो–कोहीलाई पनि थाहा नै छ, तर मसँग व्यक्तिगत चिनजान नभएकाको नजरमा मलाई गिराउने जुन निकृष्ट नियत उक्त समाचारमार्फत गरिएको छ, यो निकै पीडादायी र भत्र्सनालायक छ । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय हुनुका साथै जनजाति तथा दलित वर्गको अधिकार र उत्थानका लागि म लड्दै आएको छु । चाहे ०४२ को सत्याग्रह होस् या ०४६ को प्रजातन्त्र पुनस्र्थापनको आन्दोलन, ०५९ को प्रतिगमनविरुद्धको आन्दोलन होस् या ०६२/६३ को लोकतान्त्रिक आन्दोलन नै किन नहोस्, हरेक कालखण्डमा कुनै व्यक्तिगत स्वार्थका लागि नभई लोकतन्त्र र स्वतन्त्रताकै लागि आफूलाई अग्रमोर्चामा राखेर लडेको हुँ । सडकमा आन्दोलनकारीको शिला खोज्नुपर्ने अवस्थामा पनि आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको छायासरह बनेर प्रहरी दमन सहँदै डट्दा अनेकपटक लाठीमुङ्ग्री खाइयो, नेताहरूमाथि साङ्घातिक आक्रमण हुँदा ज्यानै जोखिममा पारेर जोगाउने काम गरियो, थुनामा परियो, यस्ता अनेक सास्ती भोगियो । यी सब आफ्ना लागि नभई देश र जनताकै खातिर गरिएको थियो । सामथ्र्यले भ्याएसम्म अझै पनि लोकतन्त्र, देश र जनताका लागि गरिरहने धोको छ । यसरी इमानदारीका साथ देशकै लागि लागिपरेको मजस्तो व्यक्तिलाई अमेरिका गई भाँडा माझेर अकुत कमाएको भन्नेजस्ता निर्लज्ज आरोप लगाएर आत्मसम्मानमा ठेस पु¥याउन खोज्नु अक्षम्य अपराध नै हो भन्न हिच्किचाइरहनु नपर्ला । झुटा कुराको सहारा लिएर ममाथि हिलो छ्याप्न खोज्ने पात्र जोसुकै भए पनि मेरो नजरमा त्यो दयाको पात्र हो । तर, यस्ता विकृत पात्रका निच प्रवृत्तिलाई पत्याउँदै स्थान दिएर घटना र विचारजस्तो लोकप्रिय अखबारले आफ्नै अवमूल्यन गरेको छ । कसैद्वारा कसैको खुट्टा तान्ने निकृष्ट कार्यमा प्रतिष्ठित पत्रपत्रिकाहरू प्रयोग हुनुहुँदैन भन्ने मेरो धारणा छ । जहाँसम्म म कुनैबेला अमेरिका गएको सन्दर्भ छ, यसबारे यहाँनेर प्रस्ट्याउनु उचित नै होला । त्यतिबेला अमेरिकास्थित जनसम्पर्क समितिका साथीहरूले आन्दोलनका बेला प्रताडना खेपेर रुग्ण बनेको मेरो स्वास्थ्यको उपचार पनि हुने भन्दै त्यहाँ आयोजित नेपाल मेला अवलोकन पनि गर्ने भन्दै अमेरिका आमन्त्रण गरेका थिए । त्यहीबेला कथित जनयुद्धको ताण्डव मच्चाइरहेको अराजक समूहका केही सदस्यहरूले मेरो छोरोलाई कलेजबाटै अपहरण गरेर म र मेरो परिवारमाथि नै सुरक्षाको ठूलो सवाल तेस्र्याइदिएका थिए । यस्तै कारणले नचाहेर पनि केही समय अमेरिकामै बिताउन म विवश बनेको थिएँ । यस्ता परिबन्दका कुराहरू केही नबुझी ममाथि जथाभावी लाञ्छना लगाउँदा साह्रै दुःख लागेको छ । आयन्दा कसैको आत्मसम्मान र स्वाभिमानमा ठेस पु¥याउने खालका सामग्रीले घटना र विचारमा स्थान नपाओस्, यस्ता संवेदनशील विषयमाथि समाचार सम्प्रेषण गर्दा विचार पुगोस् भन्ने सुझाव दिन चाहन्छु ।
– कृष्णबहादुर चुनारा, रूपन्देही