ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ ।
तीन वर्षमुनिका हरेक पाँच बालबालिकामध्ये दुईजनामा कुपोषणको समस्या रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार ४३.६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनेमिया)को समस्या रहेको पेरूको तथ्यांक मामिला हेर्ने निकायले जनाएको छ ।
सर्वेक्षणअनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको छ । यसको कारक तत्व भनेको उक्त अवस्थामा माछामासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ ।
पछिल्लो एक दशकयता पेरूको आर्थिक वृद्धिदर उच्च रहेको खाद्यान्नका कारण कुपोषणको समस्याको दर सन् २०११ पछि निरन्तर रहेको बताइएको छ ।
यसैबीच सरकारद्वारा एनेमियाको कमीलाई घटाउने अभियानस्वरूप राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार शुरु भएको अभियानको उद्घाटन गर्दै पेरूका राष्ट्रपति मार्टिन भिजकाराले एनेमियाको समस्यालाई न्यूनीकरण गर्नु सरकार र पुरै पेरूवासीको प्राथमिकता भएको बताए ।
बालबालिकाको कुपोषणको समस्यालाई आगामी तीन वर्षमा १९ प्रतिशतमा झार्ने लक्ष्य भएको राष्ट्रपतिले सम्बोधनमा बताए । उनले अभियानले हरेक पेरूवासीले सघाउने विश्वास पनि व्यक्त गरे ।
खाद्यान्न परिकार तथा पुरातात्विक चमत्कारका कारण हरेक वर्ष ४५ लाख विदेशी पर्यटकलाई भित्र्याउने पेरूमा कुपोषणको समस्या हुनु विडम्बनाको कुरा भएको छ ।
विश्वकै ५० उत्कृष्ट रेस्टुरेन्टको सूचीमा पेरूको लिमामा रहेका दुई रेस्टुरेन्ट एल सेन्ट्रल र एल माइडो उत्कृष्ट दशभित्र परेका भए पनि यहाँका जनतामा कुपोषणको समस्या देखिएको सर्वेक्षणले देखाएको छ ।
प्रतिक्रिया