हैटीमा भूकम्प, १० जनाको मृत्यु

हैटीमा भूकम्प, १० जनाको मृत्यु


हैटीमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराइमा उक्त भूकम्पको केन्द्रविबन्दु रहेको थियो ।

भूकम्पबाट घरहरू, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ । भूकम्पको धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो ।

हैटीमा यसअघि सन् २०१० मा गएको ७ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी करिब तीन लाख मानिसको मृत्यु भएको थियो ।