१२औँ काठमाडौं म्याराथनको उपाधि हेमलाल र कान्छीमायालाई

१२औँ काठमाडौं म्याराथनको उपाधि हेमलाल र कान्छीमायालाई


नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजूले १२औँ काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्दै स्वर्ण पदक जितेका छन् । हेमलालले ४२.१९ किलोमिटरको दूरी २ घन्टा, २० मिनेट ४५ सेकेन्ड र कान्छीमायाले उक्त दूरी २ घन्टा, ५० मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ सेनाका राजन खत्री दोस्रो र नेपाल प्रहरीका भूमिराज राई तेस्रो भएका थिए । खत्रीले २ घन्टा, २३ मिनेट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यस्तै महिलातर्फ भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा, २४ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै कास्य प्राप्त गरेकी थिइन् । विजयी खेलाडीहरूले क्रमशः पहिलोले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार नगदसहित मेडल प्राप्त गरेका थिए ।

प्रो. स्पोर्टस् प्रा.लि.को आयोजनामा म्याराथनअन्तर्गत भएको रोड रेसमा एपीएफका गोपीचन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पूरा गरेका थिए । दोस्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पूरा गरे । एपीएफकै सन्तोषविक्रम विष्टले १ घन्टा २२ सेकेन्डका साथ कांस्य पाए ।

त्यस्तै, महिलातर्फ सेनाकी विश्वरूपा बुढाले १ घन्टा १० मिनेट ५७ सेकेन्डका साथ स्वर्ण पाइन् । एपीएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनेट ३७ सेकेन्डका साथ रजत र एपीएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनेट ३५ सेकेन्डका साथ कांस्य पाइन् । स्वर्ण, रजत र कांस्य पदकधारीले क्रमशः २० हजार, १३ हजार र ७ हजार नगद प्राप्त गरेका थिए । यसका साथै उनीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

५ किलोमिटर खुला दौडतर्फ पुरुमा अजित यादव र महिलाम सन्तोषी श्रेष्ठ पहिलो स्थान हात पार्न सफल भए । अजितले १८ मिनेट ११ सेकेन्डमा र सन्तोषीले २० मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरेका थिए । पुरुषतर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कांस्य जितेका थिए । महिलातर्फ सानुमाया कार्की र फूलमती रानाले रजत र कांस्य पाए । उनीहरूले १० हजार ६ हजार र ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

५ किलोमिटरकै छात्रतर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रवीनकुमार बोहोराले स्वर्ण जितेका थिए । दोस्रो स्थानमा सागर श्रेष्ठ र तेस्रो स्थानमा नारायण तामाङ रहेका थिए । छात्रातर्फ कर्णाली स्पोर्टस्की मञ्जु रावतले २४ मिनेट ५५ सेकेन्डका साथ स्वर्ण पाइन् । काजल विष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालयकी स्वेशा बलामीले कांस्य पाइन् । विजयी खेलाडीले ५ हजार, ३ हजार २ हजार नगदसहित मेडल प्रमाण पत्र प्राप्त गरेका थिए ।

मास्टरतर्फको पुरुषमा धर्म महर्जन १९.५२.६३ समयका साथ स्वर्ण हात पार्न सफल भए । भीमबहादुर गुरुङले रजत र कपिल भट्टले कांस्य पाए । महिलातर्फ सरस्वती खड्का राईले २६ः५६.६२ समयका साथ स्वर्ण हात पारिन् । दोस्रो स्थानमा नीलम श्रेष्ठ रहिन् । पहिलो, दोस्रो र तेस्रोले १० हजार, ६ हजार र ४ हजार प्राप्त गरेका थिए । त्यस्तै, ह्विल चेयरतर्फको प्रतिस्पर्धामा कृष्णराज चौधरी १५ः५६.४५ समयका साथ पहिलो भए । दोस्रो स्थानमा रवीन्द्र खत्री र तेस्रो स्थानमा राजेश सिल्पकार रहेका थिए । महिलातर्फ यामी झाँक्रीमगरले बाजी मारिन् । उनले १४ः४७.६६ समयमा दूरी पूरा गरिन् । लक्ष्मी घिमिरेले रजत र हिरा तामाङले कास्य प्राप्त गरिन् । विजयी खेलाडीहरूले ५, ३ र २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।