नगद पाँच लाखसहित मिलनलाई १५औँ धर्मश्री उपाधि

नगद पाँच लाखसहित मिलनलाई १५औँ धर्मश्री उपाधि


नेपाल व्यायाम मन्दिरका मिलन सिजापतीले १३औँ धर्मश्री विजेता तथा ५०औँ एसियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै १५औँ धर्मश्रीबाट सुशोभित भएका छन् । ८० केजीमाथिको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले विजयपश्चात् नगद ५ लाखसहित ब्यानेट तथा ट्रफी प्राप्त गरेका थिए ।

दोस्रो भएका ८० केजी तौल समूहका सेप फिटनेसका महेश्वरले नगद २ लाखसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल रहे । उनले नगद १ लाखसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।

नेपाल व्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजारसहित ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए । यस्तै, पाँचौँ स्थानमा ७० केजी तौल समूहका नेपाल व्यायाम मन्दिरका सञ्जीव श्रेष्ठ रहे । उनले नगद ८० हजारसहित ट्रफी प्राप्त गरे । छैटौँस्थानमा रहेका ६० केजी तौल समूहका व्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार ट्रफी प्राप्त गरे । यस्तै, सातौँ स्थानमा ५५ केजीका व्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजारसहित ट्रफी प्राप्त गरे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्ज्वल जिम तथा जुम्बाका किसन दास दिवाकर दोस्रो र मसल मेनियाका अवाज प्याकुरेल तेस्रो भए । सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेस स्टुडियोका गौरभप्रसाद श्रेष्ठ र नेपाल व्यायाम मन्दिरका सुजन तामाङ दोस्रो र तेस्रो भए ।

६५ केजी तौल समूहमा फिटनेस फस्र्टका रोजिन बज्राचार्यले दोस्रो स्थान प्राप्त गरे । यस्तै, फिटनेस स्टुडियोका सुपेन डंगोलले तेस्रो स्थान हात पारे । ७० केजी तौलमा अक्सफोर्ड जिमका समीर श्रेष्ठले रजत पदक पाए । यसैगरी सेप टु ढल्कोका उज्ज्वलराज बज्राचार्यले कास्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सी फिटनेसका ललित धिमाल दोस्रो र रिभर फिल्ड फिटनेसका अशोक महर्जन तेस्रो भए । ८० केजी तौलको समूहमा फिटनेस स्टुडियोका प्रवीन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कांस्य प्राप्त गरेका थिए ।

यसैगरी ८० केजीमाथिको हेभिवेटमा नेपाल व्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टी हेल्थ क्लबका अनोज मास्केले कांस्यमा चित्त बुझाए । सो तौल समूहमा दोस्रो तथा तेस्रो हुनेले क्रमशः नगद ३० र २० हजार, मेडल तथा प्रमाणप्रत्र प्राप्त गरेका थिए ।

विजयी खेलाडीलाई उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, पूर्वरक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानलगायतले पुरस्कार वितरण गरेका थिए ।

०४२ सालमा १५ हजार पुरस्कार राशिबाट शुरु गरिएको धर्मश्री प्रतियोगिता १५औँ संस्करणसम्म आइपुग्दा शारीरिक सुगठनमा सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिता भएको छ ।