आयोजकमध्येको एक नेपाल सितोरियो कराते संघ, देउराली डोजोले प्रथम देउराली कप खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६ रजत र ९ कांस्य जित्यो । देउराली डोजो र देउराली क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ सतुंगल डोजो दोस्रो भयो । तेस्रो स्थानको सरस्वती डोजोले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पारेको थियो ।
नयाँ बानेश्वरस्थित एनके सिंह मेमोरियल ईपीएस स्कुलमा भएको प्रतियोगिताको पुरुषमा सरस्वती डोजोका समीर लामा तथा महिलामा देउराली डोजोकी सोनु गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । देउराली डोजोकै अनिल रोका मगर उदीयमान खेलाडी चुनिए । सानो गौचरण उदीयमान टिम घोषित भयो भने पारागन पब्लिक स्कुलले अनुशासित टिमको उपाधि हात पारेको थियो ।
विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल कराते महासंघका अध्यक्ष दाबा गुरुङ, आयोजक देउराली डोजोका अध्यक्ष राजेश जोशी, आयोजक देउराली डोजोका प्रमुख प्रशिक्षक एवं १०औँ सागका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।
सो अवसरमा खेलकुद पत्रकारद्वय अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह र राजधानीका रामसुदन तिमल्सिना, नेपाल उद्योग वाणिज्य महासंघकी सदस्य एवं पूर्व कराते खेलाडी कमला श्रेष्ठ, शारीरिक सुगठनका पूर्वखेलाडी अर्चन भट्टराई, तेक्वान्दोका अर्जुनभक्त राई, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी तथा देउराली डोजोका पूर्वखेलाडीत्रय दुर्लभ कार्की, लिलेन्द्रप्रसाद प्रधान र निर्मल सेढाईंलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा १ सय ७५ पुरुष खेलाडीले ११ तथा ७७ महिला खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया