तालिवान लडाकुद्वारा जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या

तालिवान लडाकुद्वारा जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या


तालिवान लडाकुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकुले रातभरि भीषण आक्रमण गरेका थिए ।

हजारौँ तालिवान लडाकुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ । ‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हासेमीसहित ६ जना प्रहरी अधिकारी मारिएका छन्,’ प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले भने । उनले तालिवान लडाकुतर्फका पनि धेरैजना मारिएको र केही घाइते भएको दाबी गरे ।

यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषद्का एकजना अधिकारी हुसेन अलि बालिगले बताए । बालिगका अनुसार लडाकुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्गसमेत अवरुद्ध भएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटना थप बढ्दै गएका छन् । अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ । अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन् ।